मौसम

मनसुन आजदेखि केही कमजोर : दिउँसो घाम लाग्ने‚ राति पानी पर्ने


काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन बुधबारदेखि विस्तारै कमजोर हुँदै गएको छ । महाशाखाका अनुसार मनसुन केही कमजोर भएकाले अबका केही दिन दिनभर घाम लाग्ने र राति पानी पर्ने जनाएको छ।

बुधबार बिहान देशभरको मौसम सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका अन्य भेगमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । भीषण वर्षा हुने ठाउँमा बाढीपहिरोको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउनु पर्ने महाशाखाले आग्रह गरेको छ ।