समाचार

लामो समयपछि विद्यालय टेक्दा रमाए विद्यार्थी, कोरोनाको जोखिम कति ?


काठमाडौँ – लामो समय पछि गोकर्णेश्वर नगरपालिकामा मंगलबारबाट भौतिक रुपमै विद्यालय सञ्चालनमा आएका छन् । करिब चार महिनापछि नगरक्षेत्रका सामुदायिक एवं निजी विद्यालय सञ्चालनमा आएका हुन् । मंगलबारदेखि विद्यालयमै भौतिक रुपमै उपस्थिति हुन पाउँदा विद्याथीहरु उत्साहित देखिन्छन् ।

कोरोना भाइरस संक्रमणको त्राससँगै गतवर्ष चैतदेखि बन्द रहेका विद्यालय बीचमा केहि समय खुलेका थिए । तर दोस्रो लहरको कोरोनाले भयावह रुप लिएपछि काठमाडौं उपत्यकासहित देशभरका विद्यालय बन्द गरिएको थियो । कोरोना संक्रमणका कारण लामो समय बन्द भएका धेरै विद्यालयले यसअघि अनलाइन कक्षा सञ्चालन गर्दै आएका थिए ।

तर, भौतिक रुपमा विद्यार्थीहरु उपस्थिति हुन भने पाएका थिएनन् । तर, गोकर्णेश्वर नगरपालिकाले भने नगरक्षेत्रका सबै निजी तथा सामुदायिक विद्यालय खोल्न अनुमति दिएसंगै मंगलबारबाट भौतिक रुपमा विद्यालय सञ्चालनमा आएको हो । भौतिकरूपमा पठनपाठन नियमित गराउन पाउँदा शिक्षक पनि उत्साहित देखिएका छन् । जोरपाटीस्थित निमोनिक मोर्डन एकेडमीका प्रधानाध्यापक भद्र बहादुर सुनारले विद्याथीहरुलाई तीन सिफ्टमा पठनपाठन गराइएको उनले बताए । स्वास्थ्य मापदण्ड पूरा गरी कक्षा चलाएको प्रतिबद्धता समेत उनले जनाए ।

लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको भविष्य नै अन्यौलमा पर्ने डर भएको बेला भौतिक रुपमा नै उपस्थिति भएर विद्यार्थीलाई पढाउन पाउदा खुसि भएको निमोनिक मोर्डन एकेडमीका शिक्षिका एसोधा तिमिल्सिना बताउछिन् ।

अनलाइन कक्षामै खुम्चिएका विद्यार्थी विद्यालय आउन पाउँदा खुशी देखिन्थे । अनलाइनमा पढाएको नबुझिने हुदाँ धेरै समस्या भएको र अहिले भौतिक रुपमा कक्षामा आएर सर मिसहरुसंग सोधेर पढ्न पाइने हुदाँ आफुहरु धेरै उत्साहि भएको उनीहरु बताउछन् ।

नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ८ का अध्यक्ष मनोजकुमार ढुंगानाले स्वास्थ्य सावधानी अपनाई स्वास्थ्य मापदण्ड पूरा गरेर, आवश्यक दूरी कायम गर्ने गरी विद्यालय सञ्चालनका लागि अनुमति दिइएको बताए ।

काठमाडौं उपत्यकामा नै कतिपय ठाउँमा इन्टरनेटको पहुँच नहुदाँ विद्यार्थीहरुले अनलाइन कक्षा पनि लिन नपाइरहेको अवस्था छ । त्यसकारण पनि भौतिकरुपमै विद्यालय सञ्चालन गरेर पठनपाठन सुचारु गर्नुपर्छ भन्ने आवाज बढ्न थालेको छ । अझै पनि काठमाडौं महानगरभित्रका विद्यालय कहिले खुल्छ टुगो छैन । भिडियोसहित–