समाचार

जोन्सन एण्ड जोन्सन खोप माग गर्दै युवाहरु प्रदर्शनमा



काठमाडौँ – वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाहरु जोन्सन एण्ड जोन्सन खोप माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले एक मात्रा लगाए हुने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइदिन आग्रह गरेका छन् । अस्पतालले खोप लगाउनका लागि दिएको टोनकसहित युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले आफूहरुलाई तोकिएको समयमा अर्थात उडान नछुट्ने तथा काममा समयमा पुग्ने गरि एक मात्रा लगाए हुने जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था गर्नु पर्ने माग राखेका छन् । अरु खोप लगाउँदा दोस्रो मात्राका लागि लामो समय पर्खिनु पर्ने र त्यसो गर्दा आफूहरुको रोजगारी गुम्ने अवस्था आउने उनीहरुले बताएका छन् । यस्तै आफूहरु रोजगारीका लागि जाने गन्तव्य देशले जोन्सन एण्ड जोन्सन खोप नै लगाएको हुनु पर्ने बताउँदा पनि सो खोप नपाएको उनीहरुको भनाई छ ।

आन्दोलित युवाहरुले आफूहरु विगत ३–४ दिनदेखि कहिले टेकु, कहिले प्रहरी अस्पताल त कहिले त्रिवि शिक्षण अस्पताल खोपका लागि धाइरहेको बताएका छन् । यसरी धाउँदा पनि टोकन दिएर तोकिएको खोप आफूहरुले लगाउन नपाएका कारण आन्दोलन गर्नु पर्ने बाध्यता आएको उनीहरुले बताएका छन् ।

युवाहरु आन्दोलित भएपछि माइतीघर मण्डला पुगेका स्वाथ्य कार्यालय काठमाडौँका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले अहिले जोन्सन एण्ड जोन्सन खोप नरहेको र अरु उपलब्ध खोप लगाउन सकिने जानकारी दिए । तर आफूहरुका लागि सम्बन्धीत देशले जोन्सन एण्ड जोन्सन नै लगाउनु पर्ने भनेकाले सोही खोप लगाउनु पर्ने युवाहरुको भनाइ छ ।