समाचार

आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक विदा


काठमाडौँ – श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।


यस पर्वका अवसरमा विगतका वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ । जन्माष्टमीका दिन ललितपुरको मंगल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । यस वर्ष भने नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेका कारण पूजा विधि मात्र गरिने जनाइएको छ । ललितपुर महानगरपालिकाले सूचना प्रकाशन गरी भक्तजनलाई दर्शन गर्न नदिने जानकारी गराएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।