राजनीति

मन्त्री बन्नेको तछाँडमछाँड : देउवालाई २० मन्त्रालयको भारी, जोतिषी मोहले रोकियो मन्त्रीमण्डल विस्तार


काठमाडौँ – जसपा र एमाले विभाजनपछि नयाँ दलहरुलाई सत्तामा लैजानैपर्ने दबावका कारण मन्त्रिपरिषद्ले पूर्णता पाएको थिएन । तर विभाजित दलबाट बनेका पार्टीले मान्यता पाइसक्दा समेत सरकार विस्तारमा अझै समय लाग्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई यतिबेला २० मन्त्रालयको भार एक्लै थेग्नु परेको छ ।गृह, अर्थ, कानुन र उर्जा मन्त्रालयमा मन्त्री छन् भने स्वास्थ्यमा राज्यमन्त्री मात्रै छन् । अन्य मन्त्रालय मन्त्रीविहिन भएपछि भार जति सबै आफ्नै टाउकोमा थुपारिएका प्रधानमन्त्री देउवालाई अधिकांश मन्त्रालयका सचिवले त भेट्न पनि पाएका छैनन् ।

असार २९ मा प्रधानमन्त्री बनेका देउवाले सरकारमा ४७ दिन विताइसकेका छन् । तर मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा उनको क्षमतामाथि नै प्रश्न उठेको छ ।एमालेबाट विभाजित माधवकुमार नेपालको पार्टी नेकपा एकिकृत समाजवादीले मान्यता पाएपछि मन्त्रिपरिषद् विस्तार हुने सत्ताधारी गठबन्धनको दाबी थियो । तर पार्टीले मान्यता पाएको पाँच दिन वितिसक्दासमेत सरकारले पूर्णता पाएको छैन ।

मन्त्रिपरिषद् विस्तारलाई लिएर आइतबार पनि प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले छलफल चलाएका थिए ।मन्त्रालय बाँडफाँडलाई लिएर कांग्रेस र माओवादीमा धेरै समस्या नदेखिए पनि एकीकृत समाजवादी र जसपामा आन्तरिक मतभेद हुने देखिएपछि समस्या भएको कतिपय नेताहरु बताउँछन् ।

जसपाका नेताहरु त उपत्यकाबाहिर नै भएकाले सोमबारसम्म पर्खिन आग्रह गरेको थिए । कुन दलले कति मन्त्रालय पाउने टुंगीएपनि कसले कुन मन्त्रालय पाउने विषयमै गठबन्धनभित्र सहमति जुटेको छैन ।

जसपा र एमालेको औपचारिक विभाजनलगत्तै सरकारको कामले तीव्रता पाउने बताएपनि गठबन्धन अझै केही दिन अलमलिने नेताहरुको भनाई छ ।अवस्था त कस्तो सम्म छ भने दलहरुबीच भागबण्डा मिलेपनि प्रधानमन्त्री देउवाको ज्योतिषी मोहले केहीदिन ढीला हुनसक्ने नेताहरु बताउँछन् ।

सत्ता गठबन्धनमा रहेका नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा मन्त्रीका आकांक्षी मिलाउन नेतृत्वलाई सकस परेको छ ।गठबन्धनमा कांग्रेसले प्रधानमन्त्रीसहित सात, माओवादी, एकीकृत समाजवादी र जसपाले पाँच–पाँच मन्त्रालय र एक–एक राज्यमन्त्री पाउने मोटामोटी सहमति भएको छ । तर विभिन्न बाहनामा गठबन्धनका दलहरुले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा सरकारका काम भने लथालिङग बनेका छन् ।