समाचार

अविरल वर्षाको कारण देशभरको जनजीवन प्रभावित


काठमाडौँ – अविरल बर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण बाढीले बगाउँदा नवलपरासीमा दुई जनाको मृत्यु भएको छ ।

बाढीले बगाएर एक जना बेपत्ता भएका छन् । यस्तै पूर्वी पहाडी क्षेत्रमा लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव उच्च भएसँगै सप्तकोशी आसपासका स्थानीयलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

आज दिउँसो सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ५ सय १५ क्युसेक मापन गरिएको प्रहरीले जनाएको छ । पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५६ मध्य ३१ वटा ढोका खोलिएको छ ।