राजनीति

बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य


काठमाडौँ – बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरिएको छ । बागमती प्रदेश मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको हो । मन्त्रिपरिषदको सिफारिस लगत्तै प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८६ को उपधारा २ अनुसार प्रदेशसभाको आठौं अधिवेशन बैठक अन्त्य गर्नुभएको हो ।

गत जेठ १६ गतेदेखि संचालनमा आएको प्रदेशसभाको आठौं अधिवेशनले प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो । आठौं अधिवेशनमा कुल २४ वटा बैठक बसेको थियो ।

बैठकले प्रदेश सरकारको आर्थिक ऐन विनियोजन ऐन र प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेको थियो ।