देश

सुुदूरपश्चिम प्रदेशमा आज देखि गौरा पर्व सुरु, गौरा खेल्ने खेलाउनुका साथै देउडा गीत गाएर मनाईदै


काठमाडौँ – सुुदूरपश्चिम प्रदेशमा आज देखि गौरा पर्व सुरु भएको छ । गौरा पर्वको पहिलो दिन आज पञ्चमी परेको छ । आजका दिन महिलाहरुले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्ने गर्दछन् ।

घरको एक कोठामा गाईको गोबरले लिपेर तामा–पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप–बत्ती बालेर पञ्च अन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवन महेश्वरको आहृवान गर्ने कार्यलाई बिरुडा भन्ने गरिन्छ । आजको दिन महिलाहरुले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउँछन् भने पञ्च वनस्पतिको पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मंगल गीत गाउँदै घरमा ल्याएर राख्छन् । विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठ सूत्र धारणा गर्नुपर्ने र पुरुष सरह गायत्री जप गरी भोजन ग्रहण गर्ने परम्परा रहेको छ ।

सप्तमीका दिन महिलाले दिनभरि व्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलन छ । सात गाँठो पारिएको दुर्वासहितको कण्ठ सूत्र पञ्चगव्य अभिषेक गरी गौराको खुटृामा राख्ने गरिन्छ । गौराका अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ । गौराको प्रसादका रूपमा बिरुडा आफन्तलाई प्रसादका रूपमा बाँडिने र भोलिपल्ट गौरा खेल्ने खेलाउनुका साथै देउडा गीत गाएर रमाइलो गर्ने गरिन्छ ।