समाचार

सोलुखोलामा बेपत्ता नगर प्रहरी शेर्पाको खोजीमा तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन


सोलुखुम्बु – खोलामा बेपत्ता सोलुदुधकुण्ड नगरपालिकाका एक नगर प्रहरीको खोजीका लागि सशस्त्र प्रहरी परिचालित भएको छ । करिब २० घण्टा देखि बेनी स्थित मोपुङ वासाखोलामा बेपत्ता नगर प्रहरी दावा तेन्जी शेर्पाको खोजीका लागि विपत ब्यवस्थापन सम्बन्धि तालिम प्राप्त ७ जना सशस्त्र प्रहरी परिचालित भएको सशस्त्र प्रहरी बल गुल्म नेपाल सल्लेरी सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक ९डिएसी० दिनेश शर्माले जानकारी दिनुभयो ।

मंगलबार दिउँसो खोला तर्ने क्रममा मोटरसाईकल सहित बेपत्ता बनेका शेर्पाको खोजीमा स्थानीय जनप्रतिनिधि, जनपथ प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी सहितको टोली परिचालित भएका थिए । मंगलबार करिब सय मिटर तल खोलामा मोटरसाईकल फेला परेपनि मानिस फेला पर्न नसकेकाले बुधबार विहानैबाट ७ जना तालिम प्राप्त सहित १५ जना सशस्त्र प्रहरीको टिम परिचालित भएको सशस्त्र प्रहरीले जनाएको छ ।

नगर प्रहरी दावा तेन्जी शेर्पा मंगलबार दिउँसो १२ बजे देखि वडा नम्बर २ बेनी स्थित मोपुङको वासाखोलामा बेपत्ता बनेका थिए । वडा नम्बर ८ केरुङ घर भएका २२ बर्षीय शेर्पा प्रदेश ३ – १०२००८ प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ जाने क्रममा मोटरसाईकल सहित बेपत्ता बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक (डिएसपी) कवित कटवालले जानकारी दिनुभयो ।

बर्षातक कारण अत्याधिक खोला बढेकाले खोजी कार्य प्रभावितत बनेको उहाँको भनाई छ । साथै खोजीका लागि नेपाली सेना, जनपथ प्रहरी, नगरप्रहरी, स्थानीयबासी सहितको टिम विहानै देपख परिचालित भएको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।