राजनीति

एमालेमा धोकेबाज १० भाई, कुन स्वार्थ लिएर पुगे ओलीको छहारीमा ?


काठमाडौँ – नेकपा एमालेभित्र विकल्प खोज्नुपर्छ भन्ने वकालत गर्दै आएका १० स्थायी कमिटी सदस्य अन्ततः आठ महिनापछि औपचारिक बैठकमा फर्किएका छन् । एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा क्रियाशिल बनेका उनीहरु ओलीसंग हात मिलाएर बैठकमा फर्किएका हुन् ।

यसअघि पटकपटक माधवकुमार नेपालको फेरो समाएर तंग्रीन जानेका र उनकै कोटाबाट उपप्रधानमन्त्रीसहित सरकारको मन्त्री बनेर झण्डा हल्लाएका १०नेताहरु मंगलबारअध्यक्ष केपी शर्मा ओलीले देखाएको ललिपपमा लठ्ठिदै च्यासलसम्म पुगे । त्यसमा पनि माधवकुमार नेपाललाई अन्तरघात गर्दै भर्खरैमात्र बागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यलाई ओलीले बैठकमै बधाईँ दिदा उनी संगैंको सीटमा बसेकी शाक्य मख्ख परिरहेकी थिईन ।

नेकपा एमालेमा दोस्रो तहका नेताको पहिचान बनाएका यी नेताहरुलाई आम कार्यकर्ताले पार्टी विभाजनको संकटमा पर्दा विकल्प बनेर आउन सक्ने अनुहारका रुपमा गनेका थिए । तर अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको शक्ति संघर्षले पार्टी नै बन्धकीमा पर्दा उनीहरुले दुई नेताको चाकरी गर्दागर्दै एमालको विभाजन गराएका छन् ।

यथार्तमा पार्टी जोगाउने कसरत गरेको जस्तो देखिए पनि दोस्रो तहका नेताले पार्टी होइन, ओली र नेपाललाई जोगाउने कसरत गरेका थिए । अन्ततः त्यसमा पनि असफल भएपछि ओलीको माधव नेपाल बाहेकको एमाले बनाउने आकंक्षा पुरा भएको छ ।

यी नेताहरुको राजनीति पद र स्वार्थका लागि हुँदैन थियो र सिङगो एमाले एक भएको चाहन्थ्ये भने ओली र माधवलाई एक बनाउने जिम्मा पनि उनीहरुकै थियो । सोमबार ओलीसंग १० बुँदे सहमति कार्यान्वयन गर्ने भन्दै आठ महिनापछि पार्टीको औपचारिक बैठकमा फर्किएका उनीहरुको एजेन्डा नै माधव ल्याएर पार्टी एक बनाउनओलीलाई दबाव दिने हुनुपर्ने हो । तर खुसुक्क आफु सुरक्षीत हुने बाटो अपनाएका उनीहरु यसअघि ओलीमाथि गर्दै आएको सत्तोसराप रमाधव नेपाललाई धोका दिएपछिको लाजलाई पुच्छर मुनी लुकाएर वालकोट र च्यासलको राजनीतिमा लिप्त बनेका छन् ।

मृगौलाले काम गर्न छाडेर दिल्लीमा उपचार गराई रहेका नेता झलनाथ खनालले समेत माधव नेपालले दर्ता गरेको पार्टीमा सनाखत गर्ने इच्छा राखेर भर्चुअल व्यवस्था मिलाईदिन निर्वाचन आयोगलाई अनुरोध गर्न भ्याए । तर यसअघि ओलीलाई धम्की दिदैं माधव नेपाललाई नयाँ पार्टी बनाउन उक्साउदै आएका नेताहरु ओलीको फेरो समाएर पार्टी बलियो बनाउने बाचा खान पुगेका छन् । यसले दोस्रो तहका नेताको काम आफ्ना गुटका मुखियाको चाकरी बजाउनु, त्यो पनि सफल नभए गुट परिवर्तन गर्नु र पार्टी सुधार गर्ने नभई आफ्नो गुटको मुखियालाई बलियो बनाउन दीलोज्यान दिनुमात्रै देखिएको छ ।

यसअघि धेरै पटक सम्झौता र सौदाबाजी गरेका ओलीले माधवलाई छाडेका नेताहरुकै कुरा मानेर १० बुँदे कार्यान्वयन गर्ने परिपक्क वातावरण पनि देखिदैन । माधव नेपालको पार्टीमा गइहाल्छन् कि भन्ने डरका कारण पनि ओलीले १० बुँदे कार्यान्वयनमा प्रतिवद्धता जनाएको हुन सक्ने आशंका गरिएको छ । किनकि सहमति गर्ने, तर कार्यान्वयन नगर्ने अध्यक्ष ओलीको बिगत भएकाले ढुक्क नभई सशंकित हुने अवस्था छ ।