राजनीति

कांग्रेसको क्रियाशिल सदस्यता विवाद अन्त्य


काठमाडौँ – नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद सहमतिमै टुंगिएको छ । क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन बाँकी विवादबारे पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सोमबार साँझ सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बुझेका छन् ।

देउवानिवास बुढानिलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डा।मिनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गरेका हुन् । लामो सयमदेखिको विवादलाई टुङ्ग्याउँदै नेपाली कांग्रेसले क्रियाशिल सदस्यहरुको अन्तिम विवरण तयार पारेको छ । सोमबार साँझ काँग्रेसले क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएको हो ।

छानविन समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर साउन १२ गते प्रतिवेदन बुझाएको थियो । तर छानविन समितिले बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद टुंग्याउने जिम्मा नेतृत्व तहमा पठाएको थियो ।

उक्त विवाद टुङ्ग्याउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समिति बनाइएको थियो । उच्चस्तरीय समितिमा सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकलाई सहयोगीका रूपमा राखिएका थियो । उक्त उच्चस्तरीय समितिलाई क्रियाशील छानबिन समितिले बुझाएको प्रतिवेदन र विवादित विषयलाई ५ दिनमा टुङ्ग्याउन म्यान्डेट थियो । तर उक्त समितिले सहमति जुटाउन सकेन ।

साउन ३१ बाट छलफलमा जुटेका सिटौला, रिजाल र लेखकले क्रियाशील सदस्यता विवादमा सहमति जुटाएका हुन् । विवाद समाधान भएसँगै नेतात्रयले क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बुझाईको छ । सोमबार साँझ देउवाको निजी निवास बूढानीलकण्ठमा उनीहरुले देउवा र पौडेललाई प्रतिवेदन बुझाएका छन् ।