राजनीति

एमाले सांसदहरूले सभामुखलाई धम्की दिएको भन्दै सत्ता गठबन्धन ओलीप्रति आक्रोश


काठमाडौँ – सत्तारुढ गठबन्धनले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेको छ ।

सत्तारुढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतकसहितको आज सिंहदरबारमा बसेको बैठकले सभामुख सापकोटामाथि प्रमुख प्रतिपक्ष दलका नेता ओली र सोही दलका सांसदहरुले उहाँकै कार्यकक्षमा सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो ।

बैठकले अध्यक्ष ओली र उहाँका दलका सांसदहरुलाई सभामुख विरुद्धको धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध भएको निष्कर्ष निकाल्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न पनि सचेत गराएको छ । बैठकपछि जारी भएको संयुक्त वक्तव्यमा नेकपा (एमाले)का सांसदहरुले सभामुखको कार्यकक्षमा संसदीय मर्यादा विपरितका गतिविधि गरेको दावी गर्दै निन्दा र भत्सर्ना समेत गरिएको छ ।