राजनीति

दुई सांसदमाथि कारबाही गर्न नमिल्ने एमालेलाई लुम्बिनी प्रदेशसभा सचिवालयको जवाफ

पदमुक्त नहुँदासम्म संसद चल्न नदिने एमालेको चेतावनी


काठमाडौँ – दुई सांसदमाथि एमालेले गरेको कारवाहीलाई लुम्बिनी प्रदेशसभा सचिवालयले ‘अमान्य’ ठहर गरेको छ । नेकपा एमालेलाई पत्र पठाउँदै सांसदद्वय अजय शाही र विमला खत्री वलीमाथि एमालेले गरेको कारवाही प्रक्रिया कार्यान्वयन हुन नसक्ने सचिवालयले प्रष्ट पारेको छ । सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएको हो ।

प्रदेशसभा सचिवालयले एमालेलाई पठाएको पत्रमा प्रदेशसभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद विमला वली र सांसद अजय शाही दुवैको नाम दलका सदस्यका रुपमा समावेश गरेको भए पनि उनीहरुले भर्ने अनुसूची ६ अनुसारको व्यक्तिगत विवरण फारममा आफु एमालेको सदस्य नभएको ब्यहोरा भरेका कारण पदमुक्त गर्न नसकिएको प्रस्ट पारेको छ ।

यता एमालेले भने दुई सांसदको पदमुक्त सम्बन्धी सूचना जारी नहुँदासम्म संसद चल्न नदिने चेतावनी दिएको छ भने सभामुखको राजीनामा समेत माग गरेको छ । सोही विषयलाई लिएर एमालेले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ भने मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिनसमेत ढिला हुँदै गएको छ ।