राजनीति

कांग्रेसको क्रियाशील सदस्यता विवाद आज टुङ्गिदैँ, दुई बजेसम्मको समयसीमा


काठमाडौँ – नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले अन्तिम प्रतिवेदन आज बुझाउने भएको छ । समितिले प्रतिवेदन बुझाउनका लागि आज दिउँसो दुई बजे सम्मको समयसीमा मागेको छ ।

यसअघि केन्द्रीय सदस्यता छानबिन समितिले बुझाएको अपूर्ण प्रतिवेदनमा आधारित भएर बाँकी विवाद टुंग्याउन लागिएको हो । गएको साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसामद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । डा.मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो ।

तर, केन्द्रीय समितिको निर्णयबाट बनेको कार्यतालिकाभन्दा चार दिनपछि समितिले प्रतिवेदन बुझाउन प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको समय लिएको हो ।

“अहिले पनि काम पुरै टुंगिइसकेको छैन, हामी निरन्तर काममा नै छौँ,” क्रियाशील सदस्यता विवाद समाधान समितिका एक सदस्यले भने, “क्रियाशील सदस्यता विवाद समाधानका नीतिगत निर्णयसँगै छानबिन समितिका सदस्य र कार्यालयका कर्मचारीहरुबाट निर्णयअनुरूपका काम भइरहेका छन् । आजै २ बजे प्रतिवेदन बुझाउन पार्टी सभापति शेरबहादुर देउवासँग समय मागेका छौँ ।”