राजनीति

म एमाले मै छु : वामदेव गौतम


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफूलाई माधवकुमार नेपालले खोल्न लागेको नयाँ दलमा समावेश भएको भन्ने समाचारप्रति आपत्ति जनाएका छन् । एमालेबाट अलग भई वरिष्ठ नेता माधवकुमार नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) मा नेता गौतम पनि आबद्ध भएको भन्ने प्रचार भएपछि उनको सचिवालयले त्यो झुटो भएको बताएको हो।

उपाध्यक्ष गौतमको स्वकीय सचिवालयले आईतबार एक वक्तव्य जारी गर्दै यस्ता समाचारमा कुनै सत्यता नभएको जनाएको छ । साथै, उनले आफू नेकपा एमालेमै रहेको पनि स्प्रष्ट पारेका छन ।

गौतमका स्वकीय सचिव दीपक टमटाले आज बिहान जारी गरेको वक्तव्यमा ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क.वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन,’ उल्लेख गरिएको छ । वक्तव्यमा अगाडी भनिएको छ, ‘क.वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा एमालेको नेतृत्वको कार्याशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो। तसर्थ अन्य खाले प्रचारप्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु।’