देश

बाँकेका १२ वडा बालविवाह मुक्त घोषणा


काठमाडौँ – बाँके जिल्लाका पाँच स्थानीय तहका १२ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । स्थानीय तहले वडास्तरमा सञ्चालन गरेको बालविवाहविरुद्धका अभियानमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत साझेदारी गर्दै आएको छ । परियोजनाको सहयोगमा जिल्लामा हालसम्म पाँच स्थानीय तहका १२ वडा बालविवाह मुक्त घोषणा भइसकेको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका चार वडा, कोहलपुर नगरपालिकाका तीन वडा, जानकीको तीन वडा र खजुरा र बैजनाथ गाउँपालिकाका एक–एक वटा वडा गरी हालसम्म ११ बालविवाह मुक्त घोषणा भइसकेका छन् । कोहलपुर नगरपालिकाको वडा नं ३ र वैजनाथ गाउँपालिकाको वडा नं ५ मा बालविवाहमुक्त घोषणा गर्ने तयारी भएको छ । पछिल्लोपटक शनिबारमात्रै जानकी गाउँपालिकाको वडा नं २ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले चाँडै जिल्लाकै पहिलो बालविवाह मुक्त स्थानीय तहका रूपमा जानकीलाई घोषणा गर्ने प्रतिबद्धता जनाइन् ।