कोरोना विशेष

खोप केन्द्र अझै व्यवस्थित भएन, घटौँ कुरे पछि बल्ल आउँछ पालो

विज्ञहरुले खोप केन्द्रबाट नै धेरै संक्रमित भएको बताउछन् ।


काठमाडौँ – सरकारले भदौ ४ गतेदेखि कक्षा ११ र १२ का विद्याथीहरुलाई कोरोना खोप लगाउन शुरु गरेको छ । १८ वर्षमाथिका कक्षा ११ र १२ मा अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप दिन थालिएको हो । तर,सरकारले खोप उपलब्ध गरेपनि राम्रो व्यवस्थापन नहुदाँ खोप केन्द्रमा भडभाड बढेको र त्यहिबाट संक्रमण फैलने त्रास भएको विद्याथीहरु बताउछन् ।

कोरोनाको दोस्रो लहर पूर्ण रुपमा नियन्त्रणमा नआउँदै फेरि संक्रमण बढ्न थालेको छ । अस्पतालका बेडहरु संक्रमितले भरिएका छन् । कोरोना संक्रमणबाट बचाउन सरकारले खोप अभियान त चलाइ नै रहेको छ । तर, व्यस्थित नहुँदा खोप केन्द्रहरु नै महामारी फैलाउने माध्यम बनिरहेका छन् । पछिल्लो पाँच हप्तामा ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना भाइसविरुद्धको खोप लगाएका छन् । त्यसअघि झण्डै ३६ लाखले मात्रै कोरोना विरूद्धको खोप लगाएका थिए भने अहिले खोप लगाउनेको संख्या ८७ लाख ६ हजार ७ सय १ पुगेको छ । त्यसमध्ये ३७ लाख ९९हजार १ सय ७८ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन् ।

त्यस्तै, ४९ लाख ७ हजार ५ सय २३ जनाले पहिलो डोज लगाएका छ । सरकारले अहिले जनताको जीवन रक्षाको लागि पहिलो प्रथामिकतामा खोप राखेको छ । प्राथमिकताको आधारमा सर्वसाधारणले खोप लगाएका छन् । शुक्रबार देखि त कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीले पनि खोप लगाउन थालेका छन् । तर, व्यवस्थित तवरले सेवा दिन नसक्दा विद्यार्थी मात्र होइन सबै खोप लगाउने जो कोहिले जोखिम र कष्ट बेहोर्नुपरेको छ । कोरोनाबाट बच्न खोप लगाउन आएकाहरु फितलो व्यवस्थापनले गर्दा उल्टै संक्रमति भएर जाने आवस्था आएको सेवाग्राही बताउछन् ।

सरकारले विद्यार्थीहरुको लागि छुट्टै खोप केन्द्रको व्यवस्था गरेको भए यसरी घटौँ लाइन बस्नु नपर्ने सहजै खोप पाउने अवस्था आउने उनीहरु बताउछन् । तर, सबैलाई एकै ठाउँमा खोप लगाउने व्यवस्था भएको कारण र बीच बीचमा स्थानीय नेता तथा व्यवस्थापकहरुले आफ्नो मान्छेलाई छिराएर खोप लगाएको कारण आफुहरुलाई गाह्रो भएको उनीहरु गुनासो गर्छन । यता विज्ञहरुले पनि खोप केन्द्रबाट नै धेरै संक्रमित भएको बताउछन् । बढि भिडभाड भएको कारण खोप लगाउन आउनेहरु नै संक्रमित भएको कारण खोप केन्द्रहरुको उचित व्यवस्था गर्नुपर्ने विज्ञहरु बताउछन् ।

लाइनहरू पनि अव्यवस्थित र मानिसहरूबीच आपसमा दूरी नहुँदा खोप पन्द्र नै कोरोनाको हटस्पट बन्ने खतरा देखिएको छ । खोप लगाउन लाइन बस्ने क्रममा पर्याप्त सावधानी नअपनाइए त्यहिबाट सक्रमण फैलने सम्भावनालाई नकार्न सकिदैन् । त्यसैले यस्तो अवस्थामा संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना र सामाजिक दुरी कागम गर्नेबारे नागरिक नै गम्भिर बन्न आवश्यक छ ।