समाचार

धर्माकुमारीको अधुरो यात्रा : आमाको मृत्युपछि दुधे बालकलाई काखमा राखिदिएको हृदयविदारक तस्बिर


काठमाडौँ – रुकुम पश्चिम आठबिसकोट नगरपालिका –९ सुन्दरपानी कि धर्माकुमारी बटाला आफुलाई सामान्य विरामी बताउँथिन ।

विहिबार पनि कामको शिलशिलामा नेपालगंज बस्दै आएका श्रीमानलाई उनले आफु सामान्य नै रहेको बताईन । श्रीमानले गाउँमै भएको मेडिकलमा उपचार गर्न सल्लाह दिए । तर सुधार नभएपछि नेपालगंज नै बोलाउने निधो गरे ।

श्रीमानकै सल्लाह अनुसार घरमा एक्लै बस्दै आएकी उनी सबै चाजोपाजो मिलाएर साढे दुईबर्षको नाबालक छोरासहित नेपालगंजको यात्राका लागि तयार भइन । रुकुम पश्चिमबाट जाजरकोट, सल्यान, सुर्खेत हुँदै नेपालगंज पुग्न उनलाई करिब १२ घण्टा नै लाग्थ्यो । विहिबार बेलुका ५ बजेतिर साढे २ बर्षको दुधे बालकलाई काँखमा च्यापेर उनी १२ घण्टाको रात्रिकालिन यात्रा गर्न तयार थिइन । तर गाडीमा चढेको केही समयमै उनलाई वान्ता हुन थाल्यो । बीचमा बीचमा श्रीमानले फोन गर्थे आफुलाई सामान्य रहेको र आरामले यात्रा गरिरहेको बताउँथिन । श्रीमान विहान लिन जाने योजनाका साथ निदाउँछन् ।

गाडीभित्र चिनेका कोही थिएनन् । यात्राको सहयात्रा भनेकै त्यहीँ नाबालक छोरा । तर यात्रा भरि वान्ता हुने क्रम रोकिएन । उनीसंगै यात्रा गरिरहेकाहरुले प्लास्टिकको झोला दिन्थे, त्यसमै वान्ता गर्थिन । गाडी आफ्नै बेगमा हुँकिरहन्छ, चालक न्यास्रो मेटाउन आफ्नै रङगीन गीतको साहरा लिइरहेका हुन्छन् । सबै यात्रु मस्त निद्रामा हराउँछन् । उनीसंगैको सीटमा बसेका यात्रुले बताएअनुसार उनी बेला बेलाआत्तिन्छिन, काखको छोरालाई अल्टाईपल्टाई गर्छिन । निदाएका छोरा ब्युँझिउँदैनन् ।

सायद काखमा भएको छोरालाई दुध चुसाएर पेटभरी बनाउने र आफु पनि बाँच्ने तीब्र इच्छा उनमा थियो । तर यतिबेलासम्म उनलाई नियतीले अन्तिममा अवस्थामा पु¥याइसकेको थियो । दुःखका सय जंघार तर्दै यात्रा गरिरहेकी उनी छटपटाउँदा छट्पाउँदा सदाका लागि अस्ताउँछिन ।

छोरा रोएको आवाज आउछ । आसपासका सीटमा बसेका यात्रुहरुले उनलाई उठाउँन खोज्छन् । तर उनी कहिल्यै नफर्किने गरि निदाइसकेकी हुन्छिन् । दुधे बालक धेरै रुन थालेपछि याुत्रहरुले आमाको काखमा राखिदिन्छन् । कसैले फोटो खिच्छन्, जुन अहिले सामाजिक संजालमा निकै हृदयविदारक रुपमा छाइरहेको छ ।

उता विहान बसपार्क ल्याउन जाने योजनामा निदाएका श्रीमान, श्रीमति अस्ताएको खबरले होसमा छैनन् । दुनियाँमा मानिसले सबै अनुभव बताउन सक्छ, तर जन्मदा र मर्दाको अनुभव कसैले बताउन सक्दैन् ।

त्यसैगरि एक जीवन अस्ताएको छ । छोरालाई काँखमै राखेर अन्तिम श्वास लिदाँको पीडा सायद धर्माकुमारी बटालाका लागि निकै कठिन थियो होला । यदि गाउँघरमै सुविधा सम्पन्न नभएपनि उपचार गर्न लायक अस्पतालहरु हुन्थे भने एक २८ बर्षीय आमाले यात्रामा मुत्युवरण गर्नुपर्दैन थियो होला ।