समाचार

आर्थिक कारोबारमा ठगिनेहरु बढे,पिडितलाई नै सताउने कानुनी व्यवस्था (भिडियोसहित)

कसरी बच्ने ठगिन बाट ?


काठमाडौँ – पछिल्लो समय आर्थिक कारोबारमा ठगिनेहरु बढ्न थालेका छन् । नेपाल प्रहरीमा आफ्नो उजुरी, गुनासो वा निवेदन बोकेर जाने मध्ये अधिकांशको समस्या हुन्छ – आर्थिक लेनदेनको । तर विश्वासमा परेर लेनदेन गर्नेहरुले आवश्यक कागजी प्रक्रिया पूरा नगर्दा यस्ता समस्या अझ जटिल बन्ने गरेका छन् ।

आपसी लेनदेन गर्दा मौखिक वाचाको भरमा कारोबार गर्ने चलनका कारण पछिल्लो समय ठगिनेहरुको संख्या बढ्न थालेको छ । विभिन्न अध्ययन प्रतिवेदनहरुले गाउँमा भन्दा ठगहरुको बिगबिगी सहरमा बढी हुने गर्छ । चलेको दरभन्दा बढी ब्याजको लोभमा पैशा दिने र साथीको भरमा परेर आर्थिक कारोबार गरेकाहरु पनि ठगिएका छन् । यसरी ठगिनेहरुमा आफन्तहरुबाट ठगिनेहरु सबैभन्दा धेरै रहेका छन ।

ठगहरुलाई तह लगाउने कानुन नबनेको होइन, प्रहरी, अड्डा अदालत पनि नभएका होइनन् । तर कानुनी प्रक्रिया यति झन्झटिलो हुन्छ कि न्यायको आशमा पिडितले नै दुख पाउने अवस्था छ । तर कानुनका जानकारहरु भने यस्ता कानुनी प्रक्रियासम्म पुग्नु भन्दा ठगिनबाट बच्नु नै उत्तम उपाय भएको बताउछन । जानकारहरुका अनुसार ५० हजारभन्दा बढीको कारोबार गर्नेले सम्बन्धित वडा कार्यालयमा गएर लिखत प्रमाणित गर्नु पर्छ । त्यस्तो लिखत दर्ता पनि गर्नु पर्छ । कानुन व्यवसायी वा लेखापढी व्यवसायीबाटै लिखत तयार गर्नु पर्छ । यस्तो लिखत तयार गर्दा दुई चार सय खर्च हुन सक्छ, त्यस्तो पैशा जोगाउने लोभमा मौखिकरुपमा कारोबार गर्नु हुँदैन ।

तर नेपालमा भने ठग्ने भन्दा ठगिनेकै बेईज्जत हुने अवस्था भएका कारण पनि धेरै घटना प्रहरीसम्म नपुग्ने गरेका छन् । विवाहेत्तर प्रेम सम्बन्धमा रहेकाहरुले त ठगिँदा पनि कतै उजुरबाजुर गर्न सक्दैनन् ।

आफ्नै प्रेमी वा प्रेमिकाले लाखौं लिएर नदिँदा पनि प्रेम सम्बन्ध उजागर हुने र त्यसले वैवाहिक जीवनमा थप समस्या सिर्जना हुने डरका कारण धेरै पीडितहरु उजुरी गर्न सक्दैनन् । छिमेकमा बसेको मान्छे, जागिर लगाइ दिने मान्छे, बढी ब्याज दिने मान्छे, विश्वासीलो मान्छे, आफन्त आदि भनेर पैशा दिनेहरु धेरै फसेका छन् ।

खातामा पैशा नभएको चेक दिएर मान्छे ठग्न हिँडेकाहरु कतिपय चाहिँ आफैं जेल पुगेका पनि छन् । ठगविरुद्ध कानुनी लडाई लडेपनि मुद्दा फैसला हुन बर्षौं लाग्छ । मुद्दा फैसला भएपछि पैशा खानेको चल अचल सम्पत्तिबाट अदालतले लिएको रकम भराई दिन्छ । सम्पत्ति नहुँदा रकम लिनेलाई जेल राखेर हिसाब पूरा गर्नु पर्ने हुन्छ । जेल राख्दाको सीदा बापतको रकम पीडितले नै दिनु पर्छ । रकम लिने व्यक्तिसँग तिर्नु पर्ने रकम बराबरको सम्पत्ति नहुँदा कानुनले भराई दिए पनि व्यवहारमा केही पाउन सक्दैनन् ।

समाजमा हुने अपराधहरुमा सबैभन्दा बिकराल समस्या नै ठगी सम्बन्धी बनेको छ । अरु ठगिएका खबरहरु पटक पटक सुनेकाहरु स्वयं पनि ठगीमा पर्छन् । कतिपयले त आफू ठगिएर सडकमा आएपछि आत्महत्यासम्मको बाटो तय गरेका छन । अर्कातर्फ पेशेवर ठगहरुले त प्रमाण छाड्दैनन् ।

जसका कारण कानुनी लडाईमा समेत जटिल हुने गरेको छ । फलत कसैको आश्वासनका भरमा ठगीमा परेर अदालतसम्म जानुभन्दा ठगिनबाट बच्नुनै सबैभन्दा राम्रो विकल्प हो । यदि त्यसो नभएमा कारोबारपूर्व कानुनी रुपमा आफू बलियो बन्ने तथा प्रमाण पुग्ने कागजातका आधारमा मात्र कारोबार गर्नु आवश्यक छ ।