राजनीति

कांग्रेसले सरकार चलाउन सक्दैन : राप्रपा अध्यक्ष जबरा


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना बितिसक्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचनासमेत गरे ।

ओली सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गर्नेले नै पार्टी फुटाउन पाउने गरी अध्यादेश ल्याएको उल्लेख गर्दै अध्यक्ष जबराले नेपाली कांग्रेसले तीन, चार महिनाको अन्तरालमा शासन चलाउन नसक्ने दाबी गरे।

उनले भने,‘त्यही मान्छे जसले पहिला केपी ओलीले ४० प्रतिशत भएदेखि पार्टी फोड्न पाइन्छ भन्दाखेरि त्यस्तो काम गर्नु हुँदैन अस्थिरता ल्याउँछ भनेकोमा त्यही पार्टीले २० प्रतिशतले पनि फुटाए हुन्छ भन्ने अध्यादेश ल्यायो। दुवै ठुला पार्टी, एउटा पार्टी त चकनाचुर नै भो। अर्को ठुला पार्टीले मलाई लाग्छ तिन, चार महिनाको दरमियानमा यो मुलुकमा उसले पनि शासन चलाउन सक्दैन ।’

अध्यक्ष जबराले आफ्नो पार्टीले हिन्दु राज्यको स्थापना र राजसंस्थाको झण्डा फर्फराएर मुलुकको प्रगतिको लागि अगाडि बढ्ने दोहोर्‍याए । राप्रपामा नयाँ प्रवेशी र पुराना सबै एकताबद्ध भएर अगाडी बढ्ने उनको भनाई छ ।