राजनीति

ओलीकै बाटोमा देउवा, अरुले गरे प्रतिगमन आफूले गरे अग्रगमन ? (भिडियोसहित)


काठमाडौँ – केपी ओली प्रतिगमनको बाटो हिडेको तथा बारम्बार गैरसंबैधानिक कार्य गरेका भन्दै सडकदेखि अदालतसम्म पुगेकाहरु नै अहिले सरकारमा छन् । तर वर्तमान सरकारका कदम पनि ओलीको भन्दा फरक हुन सकेको छैन । हिजो जुन विषयलाई सरकारले गरेको गल्तीका भनेर व्याख्या गरिएको थियो अहिलेको सरकारले पनि सोही गल्ती दोहोराउन थालेको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा उनकै पार्टीको एक घटक सहित प्रतिपक्षमा रहेका दलहरुले विरोध गरे । ओलीले बारम्बार यो संसदको औचित्य नभएकोले विघटन गरेको भनेर आफ्नो बचाउ गर्दा विपक्षीहरु भने सडकदेखि अदालतसम्मै पुगे । अन्तत दुबै पटक यो गैरसंबैधानिक भएको पुष्टि भयो ।

विपक्षीहरुले त्यतिवेला ओलीले बारम्बार गैरसंबैधानिक काम गरेको, अध्यादेशबाट पार्टी चलाउन खोजेको,वालुवाटारलाई पार्टी कार्यालय जस्तो बनाएको लगायतका कयौँ आरोप लगाएका थिए । सबै राष्ट्रहित र संविधान विरुद्धका कामहरु ओलीले गरेको बताउने उनीहरुको आरोपमा आफ्नै दलभित्र हेपिएको आक्रोस समेत जोडिएको थियो । अर्थात ओली सरकारमा रहिरहे देश प्रतिगमनतीर जाने हौवा फिजाएका उनीहरुले अहिले आफै सो गल्ती दोहोराईरहेका छन् । तत्कालिन समयमा उनीहले उठाएका मुद्धा जाजय थिए ।

ओलीले बारम्बार गल्ती गरेकै थिए । तर त्यसलाई प्रतिगमन मानेकाहरुकै सरकार अग्रगमनतर्फ अघि बढ्न नसकेपछि सत्ता गठबन्धनलाई आफ्नो औचित्य पुष्टि गर्न धौधौ परिरहेको छ । अवस्था कस्तोसम्म छ भने सत्ता बाडफाडमा कुरो नमिल्दा विगत एक महिनायता मन्त्रीपरिषद विस्तार समेत हुन सकेको छैन ।

ओलीले संसद्बाट कानुन बनाउनुको सट्टा अधिवेशन अन्त्य र संसद् भंग गरी अध्यादेश ल्याएका थिए । सर्वोच्च अदालतले दोस्रोपटक पुनःस्थापना गरेको प्रतिनिधिसभाको अधिवेशन देउवा नेतृत्वको सरकारले ३० दिनमै अन्त्य गरिदिएको छ । यो सरकारले पनि संसदलाई विजनेस नै दिन सकेन । संसद्को मुख्य काम देशलाई आवश्यक कानुन बनाउनु हो । एक वर्षयता एउटै कानुन बनेन तर यो अवधिमा सांसदको तलबभत्तामा ३२ करोड रुपैयाँ खर्च भयो । कुनै पनि विधेयक पेश नसकेको संसद आरोप प्रत्यारोप र गाली गलौजको थलो बन्यो । बरु देउवाले दल फुटाउने सहज हुने गरी अध्यादेश ल्याउन रातारात संसद अधिवेशन अन्त्य गरिदिए ।

जुन कार्यलाई उनीहरुले प्रतिपक्षमा हुँदा प्रतिगमन मानेका थिए । गत वर्ष केपी ओली नेतृत्वको सरकारले यस्तै प्रकृतिको अध्यादेश ल्याउँदा चर्को विरोध गरेको कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनेको एक महिनामै ल्याएको उस्तै अध्यादेशको विषयले निकै आलोचना खेपिरहेको छ । आफूलाई अग्रगमनकारी मान्ने गठबन्धन पनि ओलीकै बाटोमा लागेको छ ।

दुई तिहाइ समर्थनसहित सत्तामा पुगेका ओली ४१ महिना नबित्दै प्रतिपक्षमा पुगेको नजिकबाट देखेका देउवाले आफ्नो दललाई मात्र होइन गठबन्धनका दललाई विश्वासमा लिएर अघि बढ्ने आशा राखिएको थियो । संविधानको जग बसाउने तथा प्रतिनिधिसभाको पुर्ण कार्यकाल सञ्चालन गरेर देशलाई राजनीतिक स्थायित्वको बाटोमा अघि बढाउने छन् भन्ने धेरैको अपेक्षा थियो ।

गठबन्धनको सरकार ओलीले झै जनताको प्रतिनिधिमुलक संस्था संसदलाई बाइपास गरेर संविधान र कानुनविपरित अघि नबढ्ने आशाको विपरित पछिल्ला कदमहरुले जुन जोगी आएपनि कानै चिरको भन्ने उखान चरितार्थ भएको छ ।