राजनीति

गणतन्त्र र संविधान रक्षा गर्न अध्यादेश ल्याइएको प्रचण्डको भनाई


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलसम्बन्धी अध्यादेश गलत भन्दै विरोध गर्नेलाई जवाफ दिएका छन् । प्रचण्डले सबै अध्यादेशलाई एउटै डालोमा राखेर हेर्न नहुने बताएका छन् ।

बिहीबार समाजवादी केन्द्रले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अध्यादेशका विषयमा पत्रकारहरुले उठाएको प्रश्नलाई सकारात्मक रुपमा लिएको भन्दै भने “अध्यादेश बेठिक भन्दै प्रश्न उठाउनुभएकोमा मिडियाहरुलाई धन्यवाद दिन चाहन्छु । वास्तवमा तपाईंहरुले यसरी प्रश्न उठाएर नै बहसलाई बाटो खोलिदिने हो, तर सबै अध्यादेशलाई एउटै डालोमा राखेर हेर्ने कुराले त्यसको महत्त्वलाई साँघुरो बनाउँछ ।”

उनले अध्यादेशका उद्देश्य हेरेर मात्र त्यसबारे अवधारणा बनाउनु उपयुक्त हुने बताए । उनले सरकारले ल्याएको नयाँ अध्यादेशले संसद्, सरकार र गणतन्त्रलाई समाप्त पार्ने र देशमा भाँडभैलो सिर्जना गरी प्रतिगमनमा लैजान चाहने शक्तिलाई व्यवस्थित गरेको आसय प्रकट हुने गरी अभिव्यक्ति दिएका छन् ।

उनले कुन अध्यादेशको उद्देश्य के हो भनेर बुझियो भने त्यसको वास्तविकतासम्म पुगिने बताए । “अध्यादेश त अध्यादेश नै हो । एउटाको उद्देश्य लोकतान्त्रिक गणतन्त्र, संविधान र सम्पूर्ण उपलब्धि सिध्याउनु थियो, अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधान र आन्दोलनका उपलब्धिको रक्षा गर्नु छ ।”