राजनीति

‘साइबर स्याल’ले फोटो इडिट गरेर चरित्र हत्या गर्न खोजे : विमला वली


काठमाडौँ – लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) ले फोटो इडिट गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छन् । वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर ‘फसाउन’ खोजेको विमलाको दावी छ ।

बुधबार आफ्नो फेसबुक वालमा विज्ञप्ति पोष्ट गर्दै विमलाले राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरकोे बताएकी छिन् । आफ्नो चरित्रमाथि दाग लाग्ने गरी ‘साइबर स्याल’हरुबाट चरित्र हत्याको दुस्प्रयास भएको भन्दै उनले यसमा संलग्नमाथि कारवाहीको माग गरेकी छन् । ‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चहान्छु’ उनले भनेकी छन्, । यस घटनाबारे आफूलाई केही थाहा नभएको र आफू अनविज्ञ भएको उनको भनाई छ ।

विमलाले बस्नेतको गालामा चुम्बन गरेको फोटो सामाजिक सन्जालमा भाइरल भएपछि उनले स्पष्टीकरण दिएकी हुन् ।

आफूले माओवादी पार्टी रोजेकै कारण आफूलाई फसाउन यो षड्यन्त्र गरेको पनि उनले बताईन् । ‘माओवादी केन्द्रं रोजेपछि केही तत्वहरुबाट ममाथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए, मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो । अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दवाब आइरहेको थियो । तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुस्प्रयास स्वरुप नै मेरो चरित्र हत्या गर्न खोजिएको हो । यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु’ विज्ञप्तिमा उनले लेखेकी छन् ।

यता वाइसीएल कार्यकर्ता बस्नेतले आफ्नो फेसबुक आइडी कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रम छर्न खोजेको बताएका छन् । उनले विमला वली नाताले आफ्नो दिदी भएकाले भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।