राजनीति

महामारीमा कसरी कमाए बैंकले यतिधेरै नाफा ? (भिडियोसहित)


काठमाडौँ – कोरोना महामारीले सवै क्षेत्र घाटामा जादा पनि बैंकहरुको नाफामा भने उल्लेखिय सुधार आएको छ । गत आर्थिक वर्षमा २७ बाणिज्य बैंकहरुले समग्रमा २० प्रतिशतले नाफा बढाएका छन् । नाफा बढ्नुको मुख्य कारण सेयर बिक्रीबाट भएको आम्दानी भएको विश्लेषण भएको छ ।

गत आर्थिक वर्ष ०७७÷७८ मा २७ वाणिज्य बैंकहरुले समग्रमा २० प्रतिशत नाफा बढाएका छन् । २७ बैंकहरुले कुल ६३ अर्ब ३७ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जवकी अघिल्लो आर्थिक वर्षमा यी बैंकको नाफा ५२ अर्ब ८० करोड ६ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षमा ५ बैंकको नाफा घटेको छ भने २२ बैंकको नाफा बढेको छ । विदेशी स्वामित्वका बैंकहरु स्टान्डर्ड चार्टड, एभरेष्ट र एसबिआईको नाफा घटेको छ । त्यस्तै पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा १३ प्रतिशतले घटेको छ भने सेन्चुरी कमर्सियलको ६ प्रतिशतले घटेको छ । वाणिज्य बैंकहरुमा नबिलले सबैभन्दा धेरै साढे ४ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ ।

कतिपय बैंकले विकास बैंक तथा फाइनान्सलाई मर्ज÷एक्वीजिसन गरेर एकीकृत रिपोर्ट सार्वजनिक गरेकाले पनि नाफामा उच्च वृद्धि देखिएको छ । नेपाल बंगलादेश बैंकको नाफा सबैभन्दा धेरै ८४ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुको आधार दर र स्प्रेड दर समेत घटेको अवस्थामा पनि बैंकहरुको नाफामा उल्लेख्य प्रगति देखिन्छ । बैंकहरुको स्प्रेड दर समेत घटेको अवस्थामा नाफा बढ्नु सकारात्मक पक्ष रहेको बैंकर बताउँछन् । ऋणीबाट बैंकहरुले लिने ब्याजदर र निक्षेपकर्तालाई दिने ब्याजको औसत अन्तर स्प्रेड दर भएकाले ऋणीलाई भार पारेर नाफा आर्जन नभएको बैंकरको दाबी छ ।

कोभिड महामारीका बाबजुत पनि धेरै रकम उठेको र त्यसको नतिजा नाफामा देखिएको हो । उड्ययन क्षेत्र, होटल तथा पर्यटन, पार्टीप्यालेस, सिनेमा हल लगायतका क्षेत्रबाहेक सबैतिरको साँवा र ब्याज गत बर्ष पनि उठेको छ । त्यस्तै नाफा बढ्नुको अर्को कारण सेयर बिक्रीबाट भएको आम्दानी पनि रहेको छ ।

सेयर बजार बढेका बेला धेरैले नाफा बुक गरेका कारण यसको प्रभाव वित्तीय विवरणमा देखिएको कतीपयको बुझाई छ । कोरोना कहामारीका विच बैंकहरुको बिजनेसको वृद्धिदर पनि उच्च देखिन्छ । गत आर्थिक वर्ष वाणिज्य बैंकहरुले २८ प्रतिशत कर्जा बढाएका छन् । ०७७ असार मसान्तसम्म यी बैंकले २९ खर्ब ३ अर्ब कर्जा प्रवाह गरेकोमा ०७८ असार मसान्तसम्म ३७ खर्ब २१ अर्ब पुगेको छ । त्यस्तै, गत आर्थिक वर्ष ०७७÷७८ को चौथो त्रैमाससम्म २७ वाणिज्य बैंकहरुले कुल ४० खर्ब ८८ अर्ब ७९ करोड १५ लाख २६ हजार रुपैयाँ कुल निक्षेप संकलन गरेका छन् । औषतमा बैंकहरुको निक्षेप संकलन २१ दशमलव ४१ प्रतिशत बृद्धि भएको हो । अघिल्लो वर्ष यसै अवधिसम्म यी बैंकहरुले ३३ खर्ब ६७ अबै ९६ करोड ७२ लाख रुपैयाँ कुल निक्षेप संकलन गरेका थिए ।