देश

गोठबाट बाच्छी चोरेर काटेको अभियोगमा तीन जना पक्राउ


काठमाडौँ – कास्की जिल्लाको पुरञ्चौरस्थित गोठबाट गाईको बाच्छी चोरेर लगी काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । बाच्छी चोरी भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजतलास गर्दा चोरी भएको घरबाट लगभग दुई किलोमिटर टाढा लगेर काटेको स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार पक्राउ पर्नेमा बागलुङ निसीखोला गाउँपालिका–६ घर भई पुरन्चौर बस्ने २८ वर्षीय असारी घर्ती, २२ वर्षीय सविन बुढामगर र २१ वर्षीया अस्मिता बुढामगर रहेरका छन् । पोखरा महानगरपालिका–१९ पुरन्चौरका केशरबहादुर अधिकारीको गोठमा बाँधेको क्रस गाईको बाच्छी काटेको अभियोगमा उनीहरु मंगलबार पक्राउ परेका हुन् । यसबारे थप अनुसन्धान भईरहेको वरिष्ठ उपरीक्षक पोखरेलले जानकारी दिए ।