राजनीति

अफगानिस्तानबाट फर्किएका नेपाली भन्छन् : काबुलको अवस्था दर्दनाक र सुन्नै नसकिने


काठमाडौँ – अफगानिस्तानबाट १२७ जना मंगलबार नेपाली स्वदेश फर्किएका छन् । उनीहरुले काबुलको अहिलेको अवस्था एकदमै दर्दनाक र सुन्नै नसकिने रहेकाले त्यहाँ रहेका नेपालीको तत्काल उद्धार गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् ।

यद्दपी उद्धार गरिएका नेपालीहरु भने विभिन्न देशको राजदुतावासमा काम गर्नेहरु रहेकोले आफूहरुलाई कुनै समस्या नभएको प्रतिक्रिया दिएका छन् । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँस्थित अमेरिकी दूतावासमा रहेका १२७ जना नेपालीलाई अमेरिकी सरकारले उद्धार गरेर नेपाल पठाएको छ । उनीहरु अफगानिस्तानको राजधानी काबुलबाट दोहा, कुबेत हुँदै मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् ।

अफगानिस्तानबाट स्वदेश फर्किएका नागरिकहरुले अमेरिका दूतावासमा रहेका कारण आफूहरुलाई समस्या नभएको प्रतिक्रिया दिएका छन् । धनगढीका कृष्ण तामाङ बाहिर समस्या भए पनि अमेरिकी दूतावासमा कुनै समस्या नभएकोले गाह्रो नभएको बताए ।
त्यसैगरी अफगानिस्तानमा ३ वर्षदेखि काम गरिरहेका र आजै स्वदेश फर्किएका अर्का नेपाली प्रकाश श्रेष्ठले बाहिरको अवस्था असहज रहेको बताए । उनले दूतावासमा रहेकालाई स्वदेश फर्किउन्जेल केही नगर्ने भनिएकोले त्यति गारो असहज नभएको बताए ।

त्यस्तै स्याङ्जाका इन्द्र पौडेलले आफू दुतावासमा रहेकोले बाहिरका नेपाली साथीहरुको बारेमा खासै जानकारी नरहेको बताए । उनले नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने पहल गरिदिए राम्रो हुने बताए । त्यहाँको अहिलेको अवस्था एकदमै दर्दनाक र सुन्नै नसकिने रहेको जानकारी उनले दिए ।

उनले काबुलमा आफू बाध्यताले जानु परेको भन्दै त्यस्तो ठाउँमा नजाँदा नै राम्रो हुने सल्लाह दिए । अफगानिस्तानमा तालिबानले सत्ता लिएपछि त्यहाँ रहेका विदेशीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ ।

अमेरिकी दूतावासले उद्धार गरेर नेपाल फर्काएका १२७ जना नेपाली नेपाली सेनाले क्वारेन्टाइनका लागि सामाखुसीस्थित राधास्वामी सत्संग लगेको छ । त्यहाँ आरटीपीसीआर परीक्षणपछि क्वारेन्टाइनको अवधि सकिएसँगै उनीहरुलाई घर पठाउने सरकारको योजना छ ।