राजनीति

लुम्बिनी प्रदेशका दुई सांसदलाई पदमुक्त गर्न एमालेद्वारा पत्राचार



काठमाडौँ – नेकपा एमालेले लुम्बिनी प्रदेशको गठबन्धन सरकारमा सहभागी आफ्ना दुई सांसदलाई पदमुक्त गर्न पत्राचार गरेको छ । कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी बिनाविभागीय मन्त्री अजय शाही र सांसद विमलाकुमारी खत्री ओलीलाई पदमुक्त गर्न आज प्रदेशसभामा पत्र बुझाइएको हो ।

एमालेको सूर्य चिह्न लिएर निर्वाचित शाही र ओलीले पार्टीको विधान, संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेकाले पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरिएको छ ।

एमाले प्रमुख सचेतकसहितका सांसदहरूले आज सभामुख पूर्णबहादुर घर्तीलाई कारबाहीको पत्र बुझाएका छन् । पार्टीको नीतिनिर्देशन नमानेकाले संसदीय दल लुम्बिनीको सिफारिसमा एमाले केन्द्रीय कमिटीले पार्टी सदस्यबाट निलम्बन गरेपछि पदमुक्त गर्न पत्र बुझाएको हो ।

शाही प्रदेशसभा निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ‘ख’ बाट सूर्य चिह्न लिएर निर्वाचित भएका थिए । ओली एमाले नेता उत्तरकुमार ओलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाका तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ‘ख’ बाट निर्वाचित भएकी थिइन् ।