राजनीति

‘तालिबानले नेपालीलाई लखेट्दासम्म के हेरिरहेको छ सरकार ?’ (भिडियोसहित)


काठमाडौँ – प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद्हरुले अफगानिस्तानमा अलपत्र नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिपक्षी दलका सांसद्हरुले सार्कको अध्यक्ष राष्ट्रका हिसाबले अफगानिस्तानको घटनाप्रति नेपालले कुनै प्रतिक्रिया नजनाएको भन्दै विरोध जनाएपछि सभामुख अग्नि सापकोटाले सरकारलाई रुलिङ गरेका थिए ।

प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपाल सरकारले नै भूपू गोर्खा सैनिकहरुलाई हत्तोसाहित गर्नु खेदजनक भएको बताए । रावलले १० दिनदेखि आमरण अनसनमा बसेका भूपू गोर्खाहरुको माग सम्बोधनका लागि बेलायत सरकारले वार्ता टोली समेत नबनाउनु आपत्तिजनक भएको बताए । समस्या समाधानका लागि अब नेपाल सरकारको सक्रिय संलग्नतामा पहल गर्नुपर्ने बताए । तर परराष्ट्र मन्त्रालयले भूतपूर्व गोर्खाहरुले आमरण अनसन गर्न सुहाउने कुरा होइन भनेर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पत्र पठाएको सांसद रावलले बताए । उनले भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि नेपाल सरकारको सहभागितामा वार्ता समिति गठन गर्नुपर्ने र समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादवले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने काम नगर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई चेतावनी दिए । सांसद यादवले एमालेप्रति संकेत गर्दै संसदबाट बहुमतसावित गराउनु भएका प्रधानमन्त्री देउवालाई हेप्ने, घोच्नेलाई जनताले माफी नदिने पनि बताए । उनले प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनलाई आगामी निर्वाचन पछि पनि पाँच वर्ष सरकार चलाउने गरी जनताले म्यान्डेट दिने दावी गरे । सांसद यादवले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित काम गरेर पनि वर्तमान सरकारलाई परमादेशको सरकार भनेर हास्यास्पद तर्क गरिरहेको दावी समेत गरे । उनले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई तत्काल हवाई उद्दार गर्न पनि सरकारलाई सचेत गराए ।

नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अफगानिस्तामा उत्पन्न भएको राजनीतिक संकटप्रति नेपाल सरकारले कुनै दृष्टिकोण लिन नसकेको र आफ्ना नागरिकको उद्धारका लागि पहल नगरेको भन्दै सरकारको आलोचना गरे । एउटा दक्षिण एसियाली राष्ट्रमा संकट उत्पन्न हुँदा सार्कको अध्यक्ष राष्ट्र मौन बस्नु स्वभाविक नभएको उनको टिप्पणी छ ।

संसद् बैठकमा बोल्दै बास्कोटाले अफगानिस्तानमा रहेका नेपालीले आफ्नो देशमा सरकार छ भन्ने अनुभूति गर्न नपाएको बताए । उनीहरूको उद्धारका लागि सरकारबाट प्रतिबद्धतामात्र नभएर तत्काल ‘एक्सन’ मा जानुपर्ने उनले सुझाए । यसप्रकारको गैरजिम्मेवार र उत्तरदायी सरकारको कल्पना नगरिएको भन्दै उनले अफगानिस्ताको घटनालाई लिएर सरकारको दृष्टिकोण संसदमा सार्वजनिक हुनुपर्ने माग गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका थिए ।