कोरोना विशेष

साउनको अन्तिम सोमबार पशुपति क्षेत्रमा देखियो यस्तो दृश्य, बन्द मन्दिरको गेटबाटै दर्शन (भिडियोसहित)


काठमाडौँ – कोरोना संक्रमणका लागि काठमाडौँ उपत्यकासहित देशका अधिकाँश जिल्लामा अहिले पनि निषेधाज्ञा जारी छ । तर, संक्रमण जोखिम कम गर्न हिडडुल कम गर्नु पर्नेमा उल्टै हजारौँ मानिसहरु एकैठाउँ भेला हुँदा संक्रमणको जोखिम डरलाग्दो रुपमा बढेको छ । यो दृश्य हो पशुपतिनाथ मन्दिर क्षेत्रको । सरकारले अहिले कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै भिडभाड गर्न रोक लगाएको छ । तर, आज साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिर क्षेत्र देखिएको भिडले प्रशासनको निषेध आदेश कागजमा मात्र सीमित भएको पुष्टि हुन्छ ।

देशमा कोरोना सक्रमण पुनः बढ्दो छ । नयाँ भेरियन्ट फैलिएसँगै दैनिक ४ हजारको हाराहारीमा कोरोना संक्रमित थपिइरहेका छन् । काठमाडौँ उपत्यकाका तीन वटै प्रशासन कार्यालयले आगामी ८ गतेसम्मलाई लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । जसमा पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न नपाउने भनिएको छ ।

तर, अन्तिम सोमबार पशुपतिमा कतिपय सर्वसाधारणले त मास्क नै नलगाई भिडभाडमा पुगेको देखिएको छ । भौतिक दूरीको त कुरै नगरौ यहाँ भिडभाड थामिनसक्नु छ । यो सर्वसाधारणको लापरबाहीले कोरोना संक्रमण सजिलै फैलिन सक्ने विज्ञहरु बताउछन् । आज साउन महिनाको अन्तिम सोमबार, पशुपति मन्दिरमात्र नभएर उपत्यकाका शिव मन्दिरहरूमा देखिएको घुइचोले संक्रमणको जोखिम झनै बढेको विज्ञहरु बताउछन् ।

यी भीडहरु सरकारको अव्यवस्था र फितलो योजनाको परिणाम हो । एकातिर निषेधाज्ञा जारी राख्ने अर्कोतिर नियम पालनामा ध्यान नदिने प्रवृत्तिले कोरोरा संक्रमण घट्नुको साटो बढिरहेको छ ।।