देश

नेपाल टेलिकम कर्मचारीहरुको चेतावनी : व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान्छौं


काठमाडौँ – आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीहरुले आफूहरुको माग तत्काल सम्बोधन नभए व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । आफूहरुको सबै सेवा, सुविधा कटौति हुने गरी गत साउन १ गतेबाट जारी गरिएको विनियमावली तत्काल फिर्ता लिन दवाव दिँदै आएका टेलिकमका कर्मचारीहरुले अव पनि सम्बोधन नभए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन ।

कम्पनी संचालक समिति र व्यवस्थापनले आफू अनुकूल तर ४ हजारभन्दा बढि कर्मचारी प्रतिकूल हुने गरी विनियमावली ल्याएकाले त्यसको विरोधमा केन्द्रिय कार्यालय परिसरमा जारी अनसनलाई निरन्तरता दिन बाध्य हुनु परेको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादवप्रसाद पनेरीले जानकारी दिनु भयो ।

टेलिकम संचालक समितिले आफूहरुको अधिकार कटौति गरी जारी गरेको सो विनियमावलीविरुद्ध त्यहाँका कर्मचारीहरुले गत साउन ५ गतेदेखि केन्द्रिय कार्यालयमा धर्नासहितका विरोध कार्यक्रमलाई निरन्तरता दिईरहेका छन ।