कोरोना विशेष

के नेपालमै उत्पादन हुन सक्छ कोरोनाको खोप ?

कसरी बनाउन सकिन्छ कोरोनाको खोप ?


काठमाडौँ – कोरोना भाइरस नियन्त्रणका लागि अहिले भरपर्दाे विकल्प भनेकै खोप हो । चिकित्सकदेखि जनस्वास्थ्यविद्हरुले समेत खोप लगाउन सुझाव दिइरहेका छन् । सरकारले पनि कोरोना भाइरसविरुद्धको खोप नेपालमै उत्पादन गर्ने उल्लेख गरेको छ । तर अहिलेसम्म अन्य देशसँग परनिर्भर बनेको नेपालमा खोप उत्पादन कति सम्भव छ त ?

अहिले नेपालमा चीन, भारत र अमेरिकामा उत्पादन भएका खोपहरु वितरण भइरहेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कुल ९७ लाख खोप नेपालमा आएको छ । असोजसम्म एकतिहाइ र चैतसम्म खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाईसक्ने दाबी सरकारको छ । अझै पनि करोडकै मात्रामा खोप किन्ने सरकारको योजना छ ।

त्यसका लागि वल्र्ड बैंक र एडीबीसंग ऋण लिने सरकारी तयारी छ । अहिलेसम्म अन्य देशसँगै खोपमा परनिर्भर बनिरहेको अवस्थामा नेपालमै पनि खोप उत्पादन गर्न सकिने बताईरहेका छन् । त्यसो त साउन १८ गतेमात्रै पनि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप उत्पादनको सम्भावनाबारे अध्ययन अघि बढाएको बताएका थिए । त्यसको ६ दिनपछि सार्वजनिक गरिएको कार्यक्रममै सरकारले यो विषयलाई प्राथामिकताका साथ समेटेको छ ।

यद्यपी सरकारसंग कोभिड खोप उत्पादनको प्रविधि र हालसम्म त्यो खालको क्षमता देखिदैन । तर खोप उत्पादन गर्न भने आशातित संकेत देखिन्छ । नेपालमा अहिले कोभिड खोप उत्पादन गरिहाल्ने प्रविधि र क्षमता नभए पनि सरकारले सहजीकरण गरे नेपालमै खोप उत्पादन सम्भव रहेको विज्ञहरु बताउँछन् ।

विज्ञहरुका अनुसार खोप उत्पादन ठूलो कुरा होइन । अहिले पनि नेपालमा पशुपन्छी, गाई, भैंसी, भेडा, बाख्रा, सुँगुर र कुखुराका लागि खोप उत्पादन भइरहेको छ । खोप बन्ने प्रक्रिया पशु वा मानिसको एकै हो । सैद्धान्तिक आधारमा पशु वा मानिसको खोप बन्ने प्रक्रिया एउटै भएकाले कोभिड खोप उत्पादन पहिलो दृष्टिमा सम्भव देखिन्छ । तर अहिले तत्काल नेपालमा खोप उत्पादनका लागि कुनै विदेशी कम्पनीसंग साझेदारी गर्नैपर्ने विज्ञहरु बताउँछन् ।

कोभिड विरुद्धको खोप उत्पादनका लागि संरचना तयार गर्न मात्रै कम्तीमा छ महिनादेखि एक वर्षसम्म लाग्न सक्छ । नेपालमा खोप उत्पादन गर्न प्रविधिको अभाव रहे पनि जनशक्तिको कुनै अभाव नहुने विज्ञहरु बताउँछन् । तर उत्पादनका लागि सरकारकै अग्रसरता आवश्यक छ । बरु नेपालमै औषधि उत्पादन गरिरहेकाहरु वा विदेश कम्पनीसंग सहकार्य गरेर सरकारले उत्पादन शुरु गर्नुपर्ने विज्ञहरु बताउँछन् ।

विज्ञहरु भने नेपालले आफैँ नयाँ खोप बनाउने भन्दा पनि विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको कुनै विदेशी कम्पनीको खोप नेपालमा उत्पादन गर्दा हितकर हुने बताउँछन् । तर नेपालमा पर्याप्त प्रविधि र बजार नहुँदा उत्पादित खोप सस्तो र प्रतिस्पर्धी हुनेमा समेत विज्ञहरुले आशंका व्यक्त गरिरहेका छन् ।