देश

संसद गाली गलौजको केन्द्र बन्दै, एजेन्डामा छलफल हुनेपर्ने ठाँउ राजनीतिक ‘रत्यौली’


काठमाडौँ – जनप्रतिनिधिहरुको सर्वोच्च थलो प्रतिनिधिसभा व्यक्तिगत आरोप प्रत्यारोपको केन्द्र बनेको छ । एजेन्डा र यो संस्था पछिल्लो समय नेताहरुको आक्रोश पोख्ने थलो बनेको हो । फलत विहिबारको संसदमा पूर्वप्रधानमन्त्री ओलीको स्वास्थ्यलाई लिएर एक पूर्वमन्त्रीले दिएको अभिव्यक्ती संसदको रेकर्डबाटै हटाईएको छ ।

संसदमा पछिल्लो समय एजेन्डा र राष्ट्रिय चासोका विषयमा छलफल हुनुभन्दा बढि आरोप प्रत्यारोप हुने गरेको छ । यसअघि उच्च पदमा रहेकाहरुले समेत संसदमा तल्लो स्तरको भाषा प्रयोग गर्न थालेपछि उनीहरुको संसदीय मूल्यमान्यता र मर्यादा प्रतिको सम्मान प्रष्ट भएको छ ।

विहिबारको संसदमा समेत पूर्वमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले ओलीको स्वाथ्यलाई लिएर टिप्पणी गरेपछि विवाद भएको छ । विशेष समयमा बोल्दै यादवले ओलीलाई ‘मेन्टली र फिजिकली’ ठीक नभएको अभिव्यक्ति दिएपछि यादवको टिप्पणीमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले त्यसमा नियमापत्ती नै जनाए । ती शब्द अमर्यादित र संसदलाई नसुहाउने अभिव्यक्तिहरू गम्भीर र आपत्तिजनक भएको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका थिए । फलतः सभामुख अग्निप्रसाद सापकोटाले यादवले बोलेका ती शब्दहरु हटाउन रुलिङ गरेका छन् ।

यादवले बोल्ने क्रममा प्रयोग गरेको शब्द प्रतिनिधि सभा नियमावलीको नियम २१ को खण्ड(ङ) को प्रतिकुल हुने देखिएको भन्दै सो शब्द सचिवालयको रकर्डबाट हटाउन रुलिङ गरेका हुन । सभामुखले रुलिङ गर्नुअघि शुक्रबार पनि एमालेका प्रमुख सचेतक भट्टराईले संसद निम्छरा शब्दहरु प्रयोग गर्ने ठाउँ नभएको भन्दै संसदको इज्जत र प्रतिष्ठा बचाउनका लागि यादवले प्रयोग गरेको अमर्यादित शब्दहरु रेकर्डबाट हटाउन माग गरेका थिए ।

तर संसदमा यो खाल तुच्छ शब्द प्रयोग भएको तथा आरोप प्रत्यारोप भएको भने यो पहिलो पटक हैन । प्रदेशसभामा समेत यस्ता घटनाहरु दोहोरिएका छन । वागमती प्रदेशका सांसद नरोत्तम बैद्यको गोड्से बन्ने अभिव्यक्ति तथा सुदुरपश्मिच प्रदेशका मन्त्री तथा सांसद झपटबहादुर बोहोराले लिम्पियाधुरा,कालापानिका विषयमा दिएको अभिव्यक्ती संसदको रेकर्डबाट हटाईनु यसैको उदाहरण हो ।

केही दिन अघिमात्रै पनि संघिय संसदमा पूर्वप्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ती प्रति केही सांसदले प्रश्न उठाएका थिए । अरुलाई होच्याउने र खसाल्ने स्वभाव ओलीका हरेक भाषणमा झल्किन्छ । जुन संसदमा सम्बोधनका क्रममा पनि देखिएको थियो । उनको संसदको भाषण सुनेर आफूलाई दिक्क लागेको र धिक्कार भन्न मन लागेको राष्ट्रिसभा सदस्य रामनारायण विडारीले बताएका थिए । पूर्वप्रधानमन्त्री भईसकेको मान्छेले संसदमा बोल्दा सैद्धान्तिक, विधिशास्त्रीय तथा संसदीय कुरामा ध्यान दिनुपर्ने उनको भनाई थियो ।

बहुदलीय जननिर्वाचित पद्धतिमा संसद सर्वोच्च जनप्रतिनिधि थलो हो । त्यहाँ बस्ने सौभाग्य पाएका व्यक्तिहरु ‘सार्वभौम’ जनताका प्रतिनिधि हुन् । जसको अभिव्यक्ति, व्यवहार र आचरण ‘सार्वभौम’ हैसियत अनुरुप र सुहाउँदो हुनुपर्छ । तर दुर्भाग्य संसद कहिलेकाहीँ राजनीतिक ‘रत्यौली’ को थलो बन्ने गरेको छ ।

अर्थात संसद अश्लील तथा गालीगलौजको थलो बन्नुका साथै अशिष्ट र अमार्यादिन किसिमले पूर्वशासकहरु विरुद्ध अभिव्यक्तिको छुट पनि केही सांसदहरुले पाएका छन् । यस्ता कार्यले गरिमामय संसदकै धज्जी उठेको छ भने जननिर्वाचित प्रतिनिधिहरुको समेत हैषियत प्रष्ट भएको छ ।