राजनीति

काँग्रेस केन्द्रीय समिति बैठकमा सहभागीलाई कालो मास्क निषेध, मोबाइलबाट फोटो खिच्न रोक


काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा सहभागीलाई कालो मास्क निषेध गरिएको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा ३ बजेदेखि सुरु भएको बैठकमा सहभागीलाई कालो मास्क निषेध गरिएको हो । यस्तै समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई देउवा लगायतको फोटो मोबाइलबाट खिच्न दिइएको छैन ।

‘कालो मास्क लगाउनेलाई गेट मै रोकिएको छ’ एक पत्रकारले भने, ‘कालो मास्क खोलेर अर्को मास्क लगाएर मात्रै भित्र पस्न दिइएको छ । सञ्चारकर्मीलाई मोबाइलबाट फोटो खिच्न दिइएको छैन ।’ ती पत्रकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालाको जस्तै झझल्को काँग्रेस बैठकमा देखिएको टिप्पणी गरे । तत्कालीन प्रधानमन्त्री ओलीको कार्यक्रममा कालो मास्क प्रतिबन्ध लगाउने गरिएको थियो भने मोबाइलबाट फोटो खिच्न समेत दिइँदैनथ्यो । त्यही शैली काँग्रेसको बैठकमा पनि देखिएको हो ।

काँग्रेस बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन पेश गर्नुभएको छ । यस्तै बैठकमा महाधिवेशन सार्नेबारे पनि छलफल हुने बताइएको छ ।