देश

दीन दु:खीलाई ठग्दै काभ्रेका कुमार लामा


काठमाडौँ – बारा जिल्लाका भुषण ठाकुर । नौ वर्षदेखि भक्तपुरको कटुञ्जेमा सैलुन सञ्चालन गर्दै आएका भुषण ठाकुर । स्थायी घर बारा जिल्ला भएका उनी अहिले मात्रै ३२ वर्षका भए । तर सुगर र प्रेसरका बिरामी भइसकेका छन् । यिनको आँखामा परेको डार्क सर्कल हेरेर जसले पनि भन्न सक्छ कि यी दुःखी नेपाली रातभर निदाउन पनि सक्दैनन् ।

हप्तामा तीन पटक अस्पताल धाउनु भुषणको बाध्यता बनेको छ । तीन छोराछोरी, श्रीमतीको जिम्मेवारी युवा उमेरमै रोगी बनेको यो शरिरमाथि छ । तराईबाट दुई चार पैशा भए पनि कमाउन सकिन्छ कि भनेर काठमाडौंमा संघर्ष गरिरहेका भुषणलाई दीर्घ रोगी बनाउने गरी, यिनको सबै खुसी लुट्ने गरी, यिनको तराईको सात कठ्ठा जमिन पनि खाइदिने गरी कुकर्म गर्ने व्यक्ति हुन् – कुमार लामा । वास्तविक नाम छेवाङ तामाङ स्याङबो भएका, काभ्रे नमोबुद्ध नगरपालिका वडा नम्बर ३ का दुई पत्नीका पति कुमार जिल्लाकै कुख्यात मध्येका एक रहेछन् ।

कुमार लामाले जे जे कुकर्म गरे, हामीलाई पीडितहरुले आएर जे जे भने, त्यो सबै आज हामी प्रस्तुत गर्ने छौं । कुमार लामा कटुञ्जमै बस्थे । भुषण ठाकुरको शैलुनमा कपाल कटाउँथे । ठूला ठूला मानिसहरुसँग पहुँच छ भनेर उनी मान्छे ठग्दै हिँड्थे । कसैलाई आफ्नो क्रसर उद्योग चलाउछु भन्थे, भाडाको घरलाई आफ्नै हो भन्थे । पहिलेका गृहमन्त्री रामबहादुर थापासँग गहिरो सम्बन्ध छ भन्दै अरुहरुलाई प्रभावमा पार्न ‘बादल दाईले मलाई मात्रै विश्वास गर्नु हुन्छ ।’ पनि भन्दै हिँडथे । गृहमन्त्री नै आफ्नो गोजीको हो झै उनले भन्दै हिँड्थे । भुषण ठाकुरलाई पनि उनले भाई, काकामामाका छोराहरुलाई प्रहरीमा भर्ना गरिदिन्छु भनेर पैशा लिए । नेपालमा पैशा दिएपछि जस्तो काम पनि हुन्छ भन्ने त आम मान्यता बसेकै छ । भुषणलाई पनि लाग्यो – कि– यस्तो प्रभाव भएको व्यक्तिले प्रहरीमा जागिर लगाइ नै दिन्छन् ।

त्यसपछि विभिन्न मितिमा भुषणसँग कुमार लामाले १२ लाख रुपैयाँ लिए । जब पैशा लिए, त्यसपछि लामा सम्पर्कमा आउन छाडे । न कसैलाई प्रहरीमा जागिर लगाइदिए, न ठाकुरको पैशा फिर्ता दिए ।
आफन्तहरुसँग लिएको पैशाले भुषणको मन पोल्न थाल्यो । भुषणको घर परिवारमा पनि सबैले उनलाई दोषी देखाउन थाले । सामान्य गरिब परिवारका भुषणको जीवन कुमार लामाको अपराधका कारण तहस नहस हुन थाल्यो । उनको शान्ति खोसी, खुसी लुटियो । रातमा निदाउन छाडे । तनाव र चिन्ताकै कारण ३२ वर्षकै उमेरमा सुगरका बिरामी भए भुषण । पछि उच्च रक्तचापको समस्या पनि देखियो । हेर्दा हेर्र्दै काम गरेर गरिबीमै भए पनि खुसीपूर्वक संघर्ष गरिरहेका भुषणको जिवन कुमार लामा नामक नामुद ठगले तबाह गरिदिए ।

भुषणले जो जो व्यक्तिसँग पैशा लिएका थिए, तिनले दबाब दिन थाले । फिर्ता दिनका लागि भुषणसँग बारा सिम्रोनगढ वडा नम्बर ८ मा भएको सात कठ्ठा जमिन बेचे । १२ लाख मध्ये सात लाख रुपैयाँ जग्गा बेचेर फिर्ता गरे । अब पाँच लाख मध्ये चार लाख रुपैयाँ भुषणले आफ्नै बहिनीलाई ब्याज समेत फिर्ता गर्नु पर्ने छ । एक लाख बढी आफ्नै काकाबाट लिएका छन् । पैशा दिने बेलासम्म पनि कुमार लामा राष्ट्रिय ठग हुन् भन्ने भुषणले शंकै गरेनन् । लामाले दर्जनौं मान्छे ठगेर जेल पनि गइसकेका व्यक्ति हुन् भन्ने उनले पत्तै पाएनन् । लामा कुनै समय वाइसिएलमा संगठित भएका रहेछन् । मान्छे ठगेर धेरैको बिल्लिबाठ बनाएको थाहा पाएपछि वाइसिएलले संगठनबाट निकालि दियो । तर लामालाई कानुनको कठघरामा पुर्याउनु भन्दा त्यसै छाडी दियो ।

यिनै लामाका कारण अहिले धेरैको बिल्लिबाठ भएको छ । ठगेको रकम मात्रै हेर्दा भुषण धेरै पीडित होइनन् । तर एक सामान्य नेपालीका लागि १२ लाख रुपैयाँ भनेको धेरै ठूलो रकम हो । भुषण जस्ता गरिबलाई समेत बर्बाद बनाउन पछि नपर्ने लामाले अरु के के सम्म गरेनन् होला ? उनको अझै धेरै कर्तुत हामीसम्म आइपुगेका छन् ।