समाचार

सेनाको गाडी र पिकअप भ्यान ठोक्किँदा १ जनाको मृत्यु, २ जना घाइते


काठमडौँ – सप्तरीमा नेपाली सेनाको गाडी र पिकअप भ्यान एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर–कंकालिनी नगरपालिका–१ भारदहको कंकालिनी मन्दिर नजिक पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको १८ नम्बर बाहिनी गाईघाटको प्रदेश ३–०१–००१ ग ३७२५ नम्बरको नेपाली सेनाको गाडी र विपरीत दिशाबाट जाँदै गरेको मे १ च ६९२५ नम्बरको पिकअप गाडी एकापसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

दुर्घटनामा पिकअप चालक झापाको दमक बस्ने ४२ वर्षीय मेघराज शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले बताउनुभयो ।

दुर्घटनामा पिकअपका सहचालक सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ५२ वर्षीय भवानी र सेनाको गाडीमा सवार खोटाङको मझुवागढी नगरपालिका–१० का १८ नम्बर बाहिनी गाईघाटमा कार्यरत जमदार जीवन गिरी घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।