देश

फेसबुकमा प्रेम, विवाह गर्न खोज्दा केटा पुग्यो हिरासतमा


काठमाडौँ – सामाजिक सञ्जालबाट चिनजान, सामाजिक सञ्जालमै प्रेम सम्बन्ध भएपछि २८ वर्षका चित्रबहादुर मगर विवाहको तयारीमा लागे । रामेछापका चित्रबहादुर काठमाडौंको जोरपाटीमा सामान्य होटलमा मजदुरी गर्थे । लप्पन छप्पन गर्ने उनको फुर्सद र स्वभाव दुवै छैन ।

रामछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर २ की १७ वर्षकी युवतीले उनलाई १८ दिन जति अघि सामाजिक सञ्जाल फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाइन् । युवतीले पठाएको फ्रेन्ड रिक्वेस्ट चित्रले एक्स्सेप्ट पनि गरे । दुवै वीच फेसबुक म्यासेन्जरमा कुरा हुन थाल्यो । हुन त एक महिना भन्दा कम समयको मित्रतामा प्रेम बस्छ नै भन्ने छैन । बस्दैन भन्ने पनि छैन । तर चित्रले विवाह गर्नु पर्छ भन्ने सोचे । १७ वर्षको बताउने ती युवतीसँग विवाहको कुरा पनि भयो । युवतीले विवाह गर्ने भए तुरुन्तै गर्नु नत्र आफू अरुसँगै विवाह गरेर जाने बताउन थालिन् ।

त्यसपछि चित्रले विवाहको तयारी सुरु गरे । तर विवाह अघि नै कहानीमा यस्तो मोड आयो कि त्यो मोडले अहिले चित्र महानगरीय प्रहरी वृत्त बौद्धको हिरातमा पुगेका छन् । प्रहरीले चित्रलाई जबर्जस्ती करणी गरेको भने हिरासतमा राखेको छ । रामेछाप बस्ने युवतीलाई बौद्ध बस्ने चित्रले जबर्जस्ती करणी गरेको दावी गर्दै केटी पक्षले जाहेरी दियो । दुवै पक्षको कहानी निकै अपत्यारिलो र रहस्यमय छ भन्ने थाहा पाउँदा पाउँदै पनि प्रहरीले केटी पक्षको माग बमाजिम केटालाई पक्राउ गर्यो र हिरासतमा राखेको छ ।

युवतीको उमेर १८ वर्ष नपुगेका कारण सहमतिमा शारीरिक सम्बन्ध राखे पनि त्यसलाई जबर्जस्ती करणीकै बात लाग्ने नेपालको अनौठो कानुनका कारण अहिले चित्र हिरासतमा छन् । चित्र हिरासतमा पुगेपछि नै कहानीले खास मोड लिएको छ । किनभने घटनाको यो विन्दुमा आइपुग्न पहिले केटीको कहानीतिर अर्थात फ्लास ब्याकमा जानु पर्ने हुन्छ । कहानी के रहेछ भने आफूलाई १७ वर्षको बताउने युवतीको उमेरमै पहिलो शंका छ । उनी १७ वर्षकी होइनन् भ न्ने दावी गरिएको छ । दोस्रो नम्बर कुरा त यो हो कि केटी पक्षले चित्रबहादुरलाई जबर्जस्ती करणीको मुद्दामा थुनाएको छ तर केटीको विवाह पहिले नै रामेछापकै दुर्गा क्याप्चाकी मगरसँग १५ महिना पहिले भइसकेको रहेछ । अर्थात् युवती विवाहित हुन् । थुनिएका चित्रबहादुर अविवाहित । चित्रबहादुरले युवतीलाई आफ्नो प्रेमीका ठाने । विवाहका लागि प्रक्रिया अघि बढाए । तर युवतीको डेढ वर्ष अघि नै विवाह भइसकेको थियो ।

कहानी त अझै रोचक त यसकारण छ कि युवतीका पति र युवतीका प्रेमी अर्थात चित्रबहादुर मगर आपसमा नजिकका नातेदार मात्रै होइननन्, एउटै बाजेका सन्तान रहेछन् । चित्रबहादुरले युवतीसँग विवाह गर्ने सपना सजाए । युवती पनि चित्रबहादुरसँग विवाह गर्न पतिलाई माइती जान्छु भनेर हिँडिन् । माइतीमा मन्थली जान्छु भनेर ढाँटिन् । तर उनी न माइती गइन्, न मन्थली गइन् । उनी त काठमाडौं बौद्धमा रहेका चित्रबहादुर मगर भए ठाउँ आइन् । दुवैवीच भेट भयो । सम्भवत एकाध दिन उनीहरु सँगै पनि बसे । अहिले युवती गर्भवती भएको बुझिएको छ । गर्भ पतिबाट हो कि प्रेमीबाट हो अनुसन्धान हुन बाँकी छ । तर केटी पक्ष लामो बहस, विवाद पछि केटालाई जबर्जस्ती करणीमा जाहेरी दिने निष्कर्षमा पगेको छ ।