राजनीति

देउवालाई ओलीको प्रश्न : के लिम्पियाधुरा लिपुलेक र कालापानी समस्या हो ?


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको साझा न्युनतम कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानीमा सीमा समस्या रहेको भनी उल्लेख गरेकामा आलोचना गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी वार्ता गरेर फिर्ता ल्याउँछु भन्न किन नसकेको ? भनी प्रश्न गर्नुभयो । ‘लिम्पियाधुुरा, लिपुलेक र कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछु भन्न किन सक्नुभएन ? के लिम्पियाधुरा लिपुलेक र कालापानी समस्या हो ? हाम्रो अभिन्न भूभाग हो, हाम्रो पवित्र भूभाग हो ?’ उहाँले भन्नुभयो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या हो भनेर छाडिदिएमा समस्या समाधान नहुने भन्दै ओलीले सोध्नुभयो, ‘स्पष्ट रुपमा यो हाम्रो भूमि हामी फिर्ता लिन्छौं भन्न किन सक्नुभएन ?, त्यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ?’

यी भूमि छोड्ने अधिकार कसैलाई नभएको भन्दै ओलीले अहिलेको सरकारले फिर्ता गर्न नसकेमा डेढ वर्षपछि फेरि आफ्नै नेतृत्वको सरकारले फिर्ता लिने दावी गर्नुभयो । ‘तर ठीकै छ, तपाईले फिर्ता लिन सक्नुभएन भने हामी छौं’ उहाँले भन्नुभयो ।