समाचार

साउनको चौथो सोमबार पनि खुलेन पशुपतिनाथको मन्दिर, बन्द मन्दिरमा किन लाग्यो घुइचो ?


काठमाडौँ – साउनको चौथो सोमबार पनि अन्य सोमबारजस्तै पशुपतिनाथको मन्दिरमा पूजा गर्न दर्शनार्थी पुगे । कोरोना संक्रमणका कारण मन्दिरभित्र जान रोक लगाइए पनि दर्शनार्थीहरुले मन्दिरको गेटबाहिरबाटै आस्था प्रकट गरेका छन् । बाहिरबाटै पूजा गर्न पाउँदा पनि दर्शनार्थीहरु खुशी देखिन्थे । कोरोना संक्रमणको त्राससँगै काठमाडौंस्थित पशुपतिनाथको मन्दिर करिब चार महिनादेखि बन्द छ । नियमित पूजा चले पनि दर्शनार्थीका लागि भने बन्देज खुलेको छैन । मन्दिर बन्द गरिए पनि साउनको सोमबार भने दर्शनार्थीहरुको उल्लेख्य उपस्थिति छ ।

साउनका प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने चलन छ । केही वर्षयता साउने सोमवारको व्रतप्रति सनातन हिन्दू महिलाको आस्था बढेको देख्न सकिन्छ । साउनका सबै सोमवार व्रत बस्ने र शिवालयमा पुगेर पूजाआजा गर्ने परम्परा विकसित भएको छ । विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा पूजा आराधना गर्छन् । साउनको सोमबार भगवान् शिवको बार भएकाले यो दिन बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुन धार्मिक विश्वास छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला दर्शनार्थीहरु भिड लाग्ने गरेपनि यो वर्ष पनि कोरोनाको जोखिम कायमै रहेकाले मूल ढोका नै बन्द छ । मूल मन्दिर बन्द भएका कारण दर्शनाथीहरुले पूजा गर्न पाएनन् । तर,बाहिरबाटै पूजा गर्न पाउँदा पनि उनीहरू खुशी नै देखिन्थे । साउनको चौथो सोमबार पनि पशुपतिनाथको मूल मन्दिर दर्शनार्थीका लागि खुलेन । यता पशुपति क्षेत्र विकास कोषले भने कोरोनाको त्रास कायमै रहेका कारण मन्दिर खुला गर्न नसकेको प्रतिक्रिया दिएको छ ।

साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । नेपाल मात्र होइन कोरोना संक्रमणका कारण विश्वव्यापी रूपमा असर परेको छ । यस्तो वेला मन्दिरमा घुइँचो गर्दा संक्रमण झनै फैलिने खतरा हुन्छ । त्यसैले घर घरबाटै आस्था प्रकट गर्नेहरुको संख्या पनि उत्तिकै छ ।