काठमाडौँ – श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमानलाई जिल्ला अदालत धनुषाले दोषी ठहर गरेको छ । सोमबार जिल्ला अदालत धनुषाको फाँट नं. ३ मा कृष्णमुरारी शिवाकोटीको एकल इजलासले श्रीमान सञ्जीव साहलाई दोषी ठहर गरेको हो । त्यस्तै यस घटनामा एसिड बेच्ने नागेन्द्र साहलाई अदालतले सफाइ दिएको अदालतका सूचना अधिकारी गंगा कुमार मिश्रले जानकारी दिए ।
न्यायाधीश कृष्णमुरारी शिवाकोटीले कसुर ठहर सजाय निर्धारणको लागि पेश गर्ने भनी आदेश दिएका छन् । गत कात्तिक १९ गते दिपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित ससुरालीमा गएर श्रीमती आरती साह र छोरी रियामाथि २६ वर्षीय सञ्जीव साहले एसिड प्रहार गरेका थिए ।
घटना पश्चात सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा आरतीका श्रीमान र एसिड बेच्ने नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए । दुबै जनाबिरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ कसुरको सजायका लागि मागदावी गरिएको थियो ।
प्रतिक्रिया