कोरोना विशेष

संक्रमण बढेसँगै मास्क अभियान सुरु


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्क अभियान सुरु गरेको छ । मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म अभियान सञ्चालन गर्ने भएको हो । कोरोना भाइरसबाट बच्न बढी प्रभावकारी उपाय भनेको नै मास्क रहेकोले अभियान चलाइएको प्रधानमन्त्री शेर बहादुर देउवाले बताए ।

दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रण नआउदै नेपालमा फेरि पनि संक्रमण बढ्न थालेको छ । बीचमा केही समय सामान्य बन्दै गएको संक्रमणदर अहिले दैनिक ४ हजारको हाराहारीमा बढ्ने गरेको छ । मृत्यु हुनेको संख्या पनि घटेको छैन । यसलाई नै मध्यनजर गर्दै सरकारले शनिबारबाट एक हप्ते मास्क अभियान सुरु गरेको छ । सरकारले महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ अभियान सुरु गरेको हो ।

संक्रमण दिनानुदिन बढे पनि मानिसले सही तरिकाले मास्क नलगाउने गरेएको पाइएको छ । मास्क लगाए पनि सहि तरिकाले प्रयोग गरेका छैनन, त्यसैले पनि अभियान अन्तरगत विभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन हुनेछ । सरकारको एक्लो प्रयासले मात्र कोरोना नियन्त्रण सम्भव नभएकोले सबैले स्वास्थ्य मापदण्ड प्रयोग गर्न प्रधानमन्त्री शेर बहादुर देउवाले आग्रह गरेका छन् । सबै नगरिकलाई सहि तरिकाले मास्क लगाउन देउवाले सुझाव दिए ।

जनस्वास्थ्यमा मापदण्ड उल्लघङ्न भएको र मास्क लगाउन पनि लापरवाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान सुरु भएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए । अहिलेको प्रभावकारी उपाय भनेको नै खोप लगाउने र मास्कको प्रयोग गर्नु पर्ने उनले बताए ।

मास्क लगाए पनि कतिपयले बोल्दा मास्क फुकाल्ने, चिउडोमा लगाउने, सही तरिकाले मास्क नलगाउने गरेको देखिन्छ । यसपटक मास्कको जनचेतना नभएर मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न गरिएको हो । महामारी नियन्त्रणमा खोप जतिकै मास्क, सेनिटाइजरको उचित प्रयोग लगायत जनस्वास्थ्यको भूमिका पनि महत्वपूर्ण रहेको छ ।