राजनीति

मन्त्रालय बाँडफाँडले गठबन्धनमा मतभेद, पाँचौं पटक प्रधानमन्त्री बनेका देउवाले किन गर्दैछन् मन्त्री छान्नमा ढिलाई


काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको २५ दिन पुग्यो । तर उसबीचमा मन्त्रीमण्डलाई पूर्णता दिन नसकि ६ मन्त्रीको भरमा सरकार चलिरहेको छ ।पहिले जसपाको आधिकारिता विवाद र अहिले एमालेको माधव नेपाल पक्षलाई देखाएर पन्छिने काम भएपनि गठबन्धनभित्रको किचलो कारण बनेको छ ?

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले खासै उपलब्धीपूर्ण र जिब्रोमा झुण्डिन लायक काम नगरेपनि मन्त्रीमण्डल हेरफेरमा भने अब्बल थिए । करिब साढे तीनबर्षको कार्यकालमा ओलीले १८ पटक मन्त्रीमण्डल हेरफेर गरेर सबैको मनोकांक्षा पुरा गरिदिए । यसैकारण ओली सरकारलाई सबैभन्दा अस्थिर सरकारको ट्याग पनि लाग्यो । उनै ओलीलाई ढालेर सरकार सम्हाल्न आएका काँग्रेस सभापति शेरबहादुर देउवाले भने करिब एक महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तारलाई पार लगाउन सकिरहेका छैनन् । चारमन्त्रीसहित असार २९ मा प्रधानमन्त्रीको सपथ खाएका देउवाले २५ दिनसम्म एक स्वास्थ्य राज्यमन्त्रीबाहेक अन्य मन्त्रालयमा नेतृत्व दिएका छैनन् । गठबन्धनभित्रका दलहरुबीच मन्त्रिमण्डल बाँडफाँडलाई लिएर चुनौति थपिदै गएपछि मन्त्रिपरिषद्ले आकार पाएको छैन ।

गठबन्धनको न्यूनतम साझा कार्यक्रम टुंगो लगाउन हरेक दिनसजो हुने छलफल र भेटघाट निष्कर्षविहीन भइरहेका छन् । मन्त्रालय भागबण्डामै सत्ताधारी गठबन्धनमा आवद्ध दलहरु नै असक्षम बन्दा कोरोना महामारी र बाढी पहिरो जस्ता संकटको समाधानमा सरकार शून्य सरह बनेको छ । परिस्थितिलाई मध्यनजर गदै स्वास्थ्य र परराष्ट्रमन्त्रीको नियुक्ति अनिवार्य आवश्यकता देखिएपनि यसबारे सरकारले प्राथमिकता दिएको छैन । यसैकारण सरकारबाट बहिर्गमित भएर प्रतिपक्षमा थन्कीएको एमालेसमेत आक्रामक बन्न थालेको छ ।पुनःस्थापित संसद् नै विजनेश विहिन भएको भन्दै सरकारले लाचारीपन देखाएको एमालेका नेताहरु बताउँछन् ।

पहिले जसपाको आधिकारिकता सम्बन्धी विवादलाई लिएर गठबन्धनले मन्त्रीमण्डल विस्तारमा ढिलाई भएको दाबी गरिरहेको थियो । अहिले एमालेको माधवकुमार नेपाल पक्षलाई सरकारमा सामेल गराउन र केही दिन पर्खिन आग्रह गरेपछि रोकिएको बताउँन थालेको छ ।जबकी माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठकमै छलफल गरेर आफुहरु सरकारमा नजाने र आफ्ना कारण मन्त्रीमण्डल विस्तारमा ढीलाई नगरिएको स्पष्ट पारेको छ । तर गठबन्धनका लागि माधव नेपाल पक्ष नै लाज छाप्ने अस्त्र बनेको स्पष्ट छ ।

सरकार सञ्चालनका न्यूनतम कार्यक्रम र भागबण्डा मिलाउने उद्देश्यले गठबन्धनका दलहरुको सहभागितामा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदल बनेको छ ।तर कार्यदलमा आवद्ध फरक सिदान्त र विचार भएका सदस्यहरुकै राय बाँझिएपछि मतभेद चुलिएको छ । यसले प्रधानमन्त्री देउवालाई भने निकम्मा सावित गरेको विश्लेषकहरु बताउँछन् । यसअघि नै चारपटकसम्म प्रधानमन्त्री बनिसकेका प्रधानमन्त्रीले देउवाले पाँचौपटक प्रधानमन्त्री बनेको एकमहिना पुग्न लाग्दासमेत सरकारलाई पूर्णता नदिई आफ्नो असक्षमता देखाएको बताउँछन् ।

ओलीलाई ढालेर प्रधानमन्त्री बनेका देउवाबाट जनतालाई खासै ठुलो आशा भरोसा छैन । बस् ओलीकै जस्तो रवाफमा देउवा नचले हुन्थ्यो भन्ने मात्रै छ । तर एकमहिनासम्मको उपलब्धी र प्रयासलाई हेर्दा देउवाबाट गरिएको आशसमेत फगत कल्पनामात्र हुने देखिन्छ ।