राजनीति

हितेन्द्रदेवसँग राजीनामा मागेर कुलमानलाई प्राधिकरणमा ल्याउने सरकारको तयारी


काठमाडौँ – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको छ ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन ऊर्जा मन्त्री पम्फा भूसाललाई निर्देशन दिएका छन् ।

प्राधिकारणको सुधार र जनताको चाहना अनुसार घिसिङलाई जिम्मेवारी दिने प्रक्रिया थाल्न मन्त्री भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

घिसिङले यसअघि पनि ४ वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए । दैनिक १८ घण्टासम्म हुने विद्युत् कटौती (लोडसेडिङ) अन्त गरेका कुलमानले प्राधिकरणको व्यवस्थापनमा पनि उल्लेख्यु सुधार गरेका थिए ।

घिसिङको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो। त्यतिबेला पनि घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गरिनुपर्ने आवाज उठेपनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसमा ‘रुची’ देखाएका थिएनन् ।

घिसिङको कार्यकाल सकिएको झण्डै ५ महिनापछि २७ माघ २०७७ मा सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।