देश

जयसिंह धामीलाई एसएसबीले महाकालीमा बगायो, सरकार भन्छ– ‘अहिले नै बोल्नु हुँदैन’ (भिडियोसहित)


काठमाडौँ – भारतीय सुरक्षाकर्मीले दार्चुलाका जयसिंह धामीलाई तुइन काटेर महाकालीमा बगाएको चार दिन भएको छ । तर धामीको अवस्था अझै अज्ञात छ । सरकारले भने भारतीय सुरक्षाकर्मीको आपराधिक क्रियाकलापविरुद्ध मौनता साँधेको छ ।

भारतीय सुरक्षा बलले शुक्रबार तुइन काटेर नेपाली नागरिक जयसिंह धामीलाई महाकालीमा बगाईदियो । जसको अवस्था अहिलेसम्म अज्ञात छ । शनिबार भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट सार्वजनिक गर्दै भने ‘नेपाल हाम्रो सुख दुःखको साथी हो ।’ जसले जिउँदै व्यक्तिलाई सामान्य मानवता पनि नदेखाएर उर्लिरहेको खोलामा बगाईदिन्छ त्यस्तो साथी मलामीमा पनि चाहिदैन । किनकि कोही व्यक्ति वारपार गरिरहेकै बेला तुइन काट्नु आफैंमा जघन्य अपराध हो ।

कतिसम्मको अपराध भने, कोही व्यक्ति बसेको घर/गाडीमा बम हानेको जस्तै जघन्य । महाकालीले जयसिंह धामीलाई बगाएर कहाँ पु¥यायो कुन अवस्थामा छोड्यो पत्तो छैन । तर नेपाल सरकार भने भारतीय सुरक्षाकर्मीको ज्यादतीविरुद्ध बोल्नसमेत आँट देखाइरहेको छैन । सोमबार राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँड बोल्न त बोले तर एसएसबीकै कारण जयसिंह धामी अस्ताएको विषयमा मौन बसे ।

तुइन वारपार गराउँदै आएका प्रत्यक्षदर्शी कल्याणसिंह धामी र केही स्थानीयहरुले समेत एसएसबीले नै तुइन काटेको र जयसिंह धामी महाकालीमा बगाएको जिउँदो प्रमाण पेश गरिरहेका छन् । भारतीय पक्ष एसएसबीको भूमिका नरहेको भन्दै पानीमाथिको उभानो बन्न खोजिरहेको छ । यस्तो बेला हिम्मत लुकाएको सरकारले न भारतीय राजदूतलाई बोलाएर केरकार गर्न सक्यो, न प्रधानमन्त्री मोदीसंग आपत्ति जनाउँदै यथार्थ र कारबाहीको माग गर्न सकिरहेको छ ।

यस्तै घटना मुस्ताङको सीमा क्षेत्रमा २०१६ सालमा हुँदा चिनियाँ प्रधानमन्त्रीले माफ र ५० हजार जरिवाना तिरेका थिए । अहिले बरु मोदीले भनेझैं सुख दुःखकै साथी मानेर एउटा जवान युवा अस्ताएकोमा सरकार रमिते बन्न खोजेको भान हुन थालेको छ । उता भारतमा रहेका नेपाली राजदूतले समेत कुटनीतिक पहल र अन्यायको विरुद्ध बोल्ने छाँट देखाएका छैनन् । पटक–पटक तुइन काटिदिएको र सदैव हेपाहा व्यवहार प्रदर्शन गरिरहेको भारतीय पक्षविरुद्ध राजनीतिक दलले समेत कारबाही र भविष्यमा पुनः नदोहो¥याउने प्रतिवद्धता खोज्न आवश्यक छ ।

आफ्नै जिल्ला–सदरमुकाम आउजाउ गर्नसमेत भारतीय भूमितर्फ जानैपर्ने वर्षौंदेखिको बाध्यता पनि सरकारले अन्त्य गर्न सक्नुपर्छ । सरकारले राज्य हुनुको महुशुस सीमाबासीलाई गराउन आवश्यक छ । नत्र बेलाबेला हुने यस्ता घटनाका कारण काठमाडौंमा राष्ट्रवाद उर्लिने र दार्चुलासम्म पुग्न नपाउँदै सेलाउने परम्पराले सीमाबासीलाई थप पिरोल्ने छ । र सत्यतथ्य पत्ता लगाउन आफ्नो पक्षबाट थालेको अनुसन्धानलाई गहिराइमा पु¥याएर भारतीय उच्च तहलाई पनि छानबिनमा सामेल गराई दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले खुट्टा बलियो बनाउन आवश्यक छ ।