देश

‘जयसिंह महराको मृत्यु होइन हत्या हो’ भन्दै भारतीय दूतावास अगाडि युवा संघको प्रदर्शन


काठमाडौँ – दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा नेकपा एमाले माधव नेपाल पक्षका युवा संघले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।

उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, जयसिंह महराको हत्यारा पहिचान गरी कारबाही गर, नेपालीमाथिको भारतीय एसएसबी ज्‍यादती बन्दर गर, जयसिंह महराको मृत्‍यु होइन, हत्या हो, जयसिंह महराको परिवारलाई राहतको व्‍यवस्था गर ‘ लगायतका प्लेकार्डसहित काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

अस्थायी तुइनबाट पिथौरागढको बाटो हुँदै सदरमुकाम जान लागेका उनलाई तुइन तर्दै गर्दा भारतीय सिमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएर ‘हत्या’ गरिदिएको भन्दै संघले घटनाको छानबिन गरी दोषीलाई हदैसम्म कारबाही गर्न माग गरेका छन् ।

उनीहरुले भारतीय दूताबास नजिकै लैनचौरमा प्रदर्शन गर्दै दार्चुला घटनामा भारतको ज्यादती देखिएको भन्दै त्यसलाई बन्द गर्न माग गरेका छन् । भारतले भने एसएसबीले तुइनको डोरी नकाटेको दावी गरेको छ ।