देश

मेलम्ची खानेपानी आयोजना अनिश्चित


काठमाडौँ – मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको सरकारले बताएको छ । आइतबार मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले थप क्षति पुर्‍याएपछि आयोजना अनिश्चित भएको सरकारले बताएको हो । सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको हेडवर्क्स (मुहान क्षेत्र) क्षेत्र बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरेकाले आयोजना अनिश्चित भएको बताउनुभएको हो ।

असार १ गते आएको बाढीले हेडवर्क्समा क्षति पुर्‍याएपछि मेलम्ची खानेपानी विकास समितिले विभाग र नेपाली सेनाले सघाएमा माघ–फागुनसम्म फेरि काठमाडौंमा पानी ल्याउन सक्ने बताएको थियो । पुनर्स्थापित गर्ने कार्ययोजना बनिरहँदा आइतबारदेखि थप लेदोसहितको बाढी आएपछि आयोजनाको भविष्यबारे थप आशंका उब्जिएको हो ।

अस्तिको बाढीअघि माघसम्म अस्थायी रुपमा भए पनि पानी ल्याउन सकिन्छ भन्ने थियो,’ खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले भन्नुभयो, ‘अब त्यो समयसम्म काम गर्न सक्छौं कि सक्दैनौं भन्ने भएको छ ।’ बाढीले आयोजनाको सुरुङ जोगिए पनि बाँधसहितका बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले पुरिएका छन् । आयोजनाको संरचनामाथि नै खोला बगिरहेको छ ।

माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अवस्थामा आधारमा विज्ञ टोलीले मेलम्ची आयोजनामा पनि समस्या पर्न सक्ने बताएको उहाँले जानकारी गराउनुभयो ।