देश

छिन्नमस्ता भगवतीको चोरी भएको मस्तकसहित एक पक्राउ


काठमाडौँ – छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चोरी गरेका मण्डलले बिहान आफैँले मुकुट ल्याएको र मन्दिर स्थापना गर्ने भन्दै गाउँमा हल्ला गर्दै हिँडेको स्थानीयवासी जयप्रकाश यादवले बताए । मण्डलसहित ७५० ग्रामको चाँदीको मुकुट, सुनको टीका र नथिया बरामद गरी मण्डललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

आइतबार राति करिब ७ बजे सरसफाइका लागि मन्दिरका पूजारी पोखरीबाट पानी लिन गएका बेला मुकुट चोरी भएको थियो । चोरीको घटना बाहिरिएपछि राति नै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी उपरीक्षक धमलासहितको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले तत्कालै पूजाको पालोमा रहेका तीन पूजारीलाई नियन्त्रणमा लिएको थियो । चोरीको अनुसन्धानका लागि राति नै सीमानाकालाई समेत सिल गरिएको थियो ।