राजनीति

माओवादीले आज मन्त्रीको टुंगो लगाउने, कोको बन्दैछन् मन्त्री ?


काठमाडौँ – नेकपा माओवादी केन्द्रले आज पार्टीका तर्फबाट मन्त्री हुनेको नाम टुंग्याउने तयारी गरेको छ । ओली नेतृत्वको सरकार हटेर देउवा नेतृत्वको सरकार बनेपछि आफ्नो पार्टीको तर्फबाट सरकरमा समावेश गराउनका लागि माओवादीको आज बस्ने स्थायी कमिटीको बैठकले पाँच मन्त्रीको टुंगो लगाने भएको हो ।

माओवादीमा मन्त्री बन्ने आकांक्षी धेरै भएको हुनाले मन्त्री छनौटमा केही सकस भने देखिएको छ । माओवादीबाट मन्त्रीका लागि नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे ,शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको नाम चर्चामा छ । तथापि, यसमध्ये पनि समावेशी आधारमा भूगोलसमेत मिलाएर भरसक नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी गरेको माओवादी केन्द्रले बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीका तर्फबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल मात्र सहभागी छन् । माओवादीले पाउने भनिएको ७ मन्त्रालयमध्ये बाँकी पाँच उक्त नामबाट नै हुन सक्ने आशंका गरिएको छ ।

आइतबारको स्थायी कमिटी बैठकमा माधव समूह औपचारिक रुपमा सरकारमा सहभागी हुन नसक्ने प्रचण्डको ब्रिफिङ थियो । तत्काल नेपाल समूह नआउने भएपछि मन्त्रिमण्डललाई पूर्णता दिएर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो । यता एमालेमा पार्टी एकताकै लागि प्रयास भइरहेकाले नेपाल समूह सरकारमा जान अनिच्छुक देखिएको छ । तर गठबन्धनका नेताहरुले संसद जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल समूहलाई सरकारमा आउन दबाब दिइरहेका छन् । माधव कुमार नेपाल समूहको अलमलले मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको नेताहरुले बताउँदै आएका छन् ।

कांग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनर्मोचाको समर्थनमा २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।