राजनीति

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा, अबको ६ महिनाभित्र संचालनमा आउने दाबी


काठमाडौँ – राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको निर्माणकार्य अबको ६ महिनामा सम्पन्न हुने बताइएको छ । यही महिना भित्र निर्माण सम्पन्न हुनपर्ने भए पनि कोरोनाका कारण आयोजना पर धकेलिएको हो ।

गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको थियो । गत वर्ष समेत कोरोनाका कारण निर्माणले गति लिन सकेको थिएन । चालू आर्थिक वर्षमा केही गति लिएको निर्माण कार्यले फेरि आएको कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा हुँदा कामले गति लिन भने सकिरहेको थिएन । मे महिनामै विदेशी जनशक्तिले आएर विमानस्थल अवलोकन गर्ने योजना रहेकोमा कोभिड दोस्रो लहरका कारण रोकिएको थियो । विदेशबाट आउने जनशक्तिहरु जुलाई÷अगस्टसम्ममा आउने व्यवस्था मिलाइएको हुँदा काम निरन्तर भइरहने इन्जिनियर कृष्ण पौडेलले बताउनु भयो ।

विमानस्थल निर्माण सन् २०१७ को नोभेम्बर महिनादेखि शुरु भएको हो । हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन निर्माण लगायतका काम भइसकेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ । ८ हजार स्क्यार मिटर अन्तर्राष्ट्रिय उडानका लागी र ६ हजार स्क्यार मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्यार मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो ।