समाचार

इलाम, झापा, मोरङको धेरै स्थानमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौँ – अविरल वर्षाले देशका विभिन्न नदीहरुमा बाढी आएको छ । जसमध्ये केहीले सतर्कता तह पार गरेका छन् ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार विहान ७ बजेसम्म इलाम, झापा, मोरङको धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकाले नदीहरुमा पानीको बहाब उच्च बनेको छ ।

मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने, होचा स्थानमा डुबान हुन सक्ने भएकाले राति सम्म उच्च सतर्कता अपनाउन महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

रौतहट कर्मैया (पधेरादोभान) स्थित बागमती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । तनहुँको बिमलनगरस्थित मर्स्याङ्गदी नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । बारास्थित सिमरा विमानस्थल र आसपासका क्षेत्रहरूमा भारी वर्षा भएकोले सो क्षेत्रका ससाना खोलाहरूमा आकस्मिक बहाव आउन सक्ने सम्भावना छ ।

लमजुङ्गको खुदीबजार, बेसीसहर र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । दोर्दी, न्यादी, चेपे लगायतका खोलाहरूमा आकस्मिक बहाव आउन सक्ने सम्भावना, तटीय क्षेत्रहरू तथा पहिरो जानसक्ने भिरालो जमिनमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।