समाचार

पृथ्वी राजमार्गका ७ ठाउँ पहिरो : १ को मृत्यु, सवारी आवागमन अवरुद्ध


काठमाडौँ – अविरल वर्षापछि आएको पहिरोमा ट्रक पुरिंदा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका १०, तिघरन खानीमा खसेको पहिरोले पुरिंदा एक जनाको मृत्यु भएको हो । पहिरोले चारवटा सवारी पनि पुरेको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले दिएको जानकारीअनुसार पहिरोले पुरिएका चारमध्ये ना ८ ख ४५४० नम्बरको ट्रकको मात्र पहिचान खुलेको छ । मृतक सोही ट्रकमा सवार रहे पनि उनको सनाखत भएको छैन ।

विहीबार रातीदेखि नै अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकमा थप पहिरो र लेदोमाटो झर्दा काठमाडौँबाट गएका सवारीहरु मुग्लिनमा र पूर्व तथा पश्चिमबाट काठमाडौँ आउन लागेका सवारी साधनहरु नरायणगढमै रोकिएका छन् । राजमार्गमा मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ ।

निरन्तर वर्षा भैरहेकाले राजमार्गमा पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । नारायणगढदेखि काठमाडौँसम्म सात स्थानमा ठूलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । तीमध्ये मुग्लिनबाट नारायणगढसम्म पाँच स्थानमा ठूलो पहिरो झरेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सत्रकिलो, पाँचकिलो, चारकिलो र जलवीरे तथा भरतपुर महानगरपालिका–२९ को सेती दोभानमा ठूलो पहिरो खसेको छ । त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकासहित गजुरी गाउँपालिकाको सेतीपूलमा पनि पहिरोले सडक अबरुद्ध भएको छ ।

धादिङ सदरमुकाम जोड्ने कालु पाँडे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिका–६ परेवाटारमा पनि ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।